Logo

स्थान विवादले अस्पताल बनाउने योजना अन्योलमा



म्याग्दी, ३० कात्तिक: स्थान विवादका कारण म्याग्दीको रघुगङ्गामा पालिकास्तरीय अस्पताल निर्माण गर्ने योजना अन्यौलमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।

गाउँपालिका र बेगका वासिन्दाबीच उत्पन्न स्थान विवादले अस्पताल बनाउने योजना कार्यान्वयनमा अन्योल भएको छ । कात्तिक २० गतेको कार्यपालिका बैठकले पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।

बेगका जनप्रतिनिधि, राजनीतिकर्मी, अगुवाले बेगमै अस्पताल बनाउनुपर्ने मागसहित निर्णय सच्चाउन गाउँपालिकालाई कात्तिक २७ गते ज्ञापनपत्र बुझाएका थिए । कार्यपालिका निर्णयप्रति फरक मत राख्दै आएका बेगका वडाध्यक्ष बिलप्रसाद फगामीले ठाउँ नै तोकेर आएको योजना अन्यत्र लैजान नहुने बताए ।

रु १० करोडभन्दा बढी लागत अनुमान गरिएको अस्पतालको भवन बनाउन मन्त्रालयले चालु आर्थिक वर्षमा रु ८३ लाख बजेट पठाएको छ । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको गाउँपालिकाले जनाएको छ । सबै वडाका बासिन्दालाई पायक पर्ने र केन्द्रसमेत भएकाले मौवाफाँटमा अस्पताल बनाउन सहमतिमा निर्णय गरी ठाउँ सार्नका लागि मन्त्रालयमा सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेग स्वास्थ्य चौकीको भवन पुनःनिर्माण गर्न एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । ठेक्का लागिसकेको भवन वडा–७ चिमखोला अथवा झिँमध्ये कुनै एक ठाउँमा लैजान बेगवासीले प्रस्ताव गरेका छन् ।

बेगमा अस्पताल बनेमा छिमेकी भगवतीका केही बस्तीबाहेक अन्य वडाका बासिन्दालाई सेवा लिन अपायक पर्ने गाउँपालिकाका पदाधीकारीको भनाइ छ । “बेगमा अस्पताल बनाउनेनै हो भने आठ दिनभित्र जग्गा धनीपुर्जा लिएर आउने सर्तमा स्वास्थ्य चौकीको भवन चिमखोला वा झिँमा बनाउन सहमति दिनुहोस् भन्ने विकल्पमा सहमति जनाएको हो,” अध्यक्ष भण्डारीले भने ।

गाउँपालिकाले यसअघि बेगको बादुकमा सामुदायिक स्वास्थ्य एकाइ र तिप्ल्याङमा आयुर्वेद स्वास्थ्य केन्द्रको गाउँघर क्लिनिक स्थापना गरेको छ । मन्त्रालयले पाँचदेखि १५ शैय्याको अस्पताल बनाउन रघुगङ्गाको बेग, धवलागिरीको ताकम, मङ्गलाको अर्मन र अन्नपूर्णको दोवा स्वास्थ्य चौकीलाई छनोट गरेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्