काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहानै वामदेव गौतमलाई भेटका लागि बोलाए । उनी भैंसेपाटीबाट बालुवाटार पुगी आधा घन्टा सिधा कुरा गरे ।
ओलीले गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरे । विशेषगरी वामदेवले चासो देखाएको अर्थ मन्त्रालयको प्रस्ताव गरे । गृहमा समेत लानसकिने विषय राखे । यतिमात्र नभई भविष्यमा नेकपाको अध्यक्ष बन्न सहयोग गर्ने वचन समेत दिए ।
ओलीको यी प्रस्तावहरुप्रति वामदेव भने खुशी भएनन् । उनले सबै प्रस्ताव अस्वीकार गरे । विगतमा ओलीलाई गरेका सहयोगहरुबारे सुनाए । जसमा नेकपा अध्यक्ष बन्न देखि दुई पटक प्रधानमन्त्री पद नै संकटमा पर्दा गरेको सहयोग समेत उल्लेख गरे । तर, पटक पटक आफूमाथि धोका भएको भन्दै असन्तुष्टि पोखे ।
गौतमले पार्टी पद्धति र निर्णयमा मात्र विश्वास गर्ने बताए । उनले पदभन्दा पद्धति र विधि महत्वपूर्ण भएको सुनाएर उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयको प्रस्ताव अस्वीकार गरे ।
विगतमा गौतमको सहयोगले ओलीको दुईपटकको सत्ता संकट टरेको थियो । यसका लागि गौतमलाई ओलीले सरकारमा लाने वचन दिएका थिए । त्यो कार्यान्वयन गर्न ओलीले अलमल गरेपछि गौतम रुष्ट छन् । उनी ओलीविरोध मोर्चामा सहभागी छन् ।