Logo

माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव



काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका प्रभावशाली नेताहरुलाई पक्षमा पार्न प्रयास गर्दै आएका छन् । उनले आफै प्रत्यक्ष भेटेर वा विश्वासपात्रमार्फत् विभिन्न प्रस्ताव पठाइरहेका छन् ।

ओलीले नेकपाको पछिल्लो विवाद चर्किएयता वरिष्ठ नेता माधवकुमार नेपालसँग तीनपटक भेटेका छन् । भेटमा उनले नेपालसँग राजनीतिक लेनदेनको विषय राखेको बुझिएको छ । नेपालसँग केही समय अघि भएको भेटमा ओलीले भविष्यमा प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न सहयोग गर्ने प्रस्ताव राखेका थिए ।

अब आफू यो कार्यकाल मात्र प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने भन्दै अर्कोपटक नेपाललाई सहयोग गर्ने बताएका थिए । त्यसका लागि आफूलाई अहिलेको संकटमा साथ दिन ओलीले आग्रह गरेका थिए । तर, नेपालले त्यो राजनीतिक लेनदेनमा सहमति जनाएनन् । उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान र सबै आफ्नो ठाउँमा सच्चिनुपर्ने विषय राखेका थिए ।

नेपालले आफूलाई ओलीले प्रधानमन्त्री र भावी अध्यक्षका लागि गरेको प्रस्ताव सचिवालका पाँच सदस्यको बैठकमा खुलासा गरेको बुझिएको छ । ओलीले क कस्लाई के के प्रस्ताव गरे भन्ने विषयमा अहिले पाँचजना सचिवालय सदस्यहरुबीच छलफल हुन थालेको छ । उपाध्यक्ष वामदेव गौतमले भने आफूलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयको प्रस्ताव आएको खुलाए ।

अहिले नेकपाका ओलीइतर समूहबीच मोर्चाबन्दी कसिला बन्दै जाँदा एक अर्कालाई ओलीले गरेको प्रस्तावबारे जानकारी गराउन थालेको बुझिएको छ । ओलीले प्रचण्ड, माधव नेपाल र वामदेव गौतमसँग राजनीतिक लेनदेनको प्रयास गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot