Logo

प्रचण्डको प्रतिवेदन फिर्ता नभए सहकार्य हुन गाह्रो छ : गोकुल बास्कोटा



काठमाडौं, १ मङ्सिर । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभएमा सँगै रहन गाह्रो हुने नेकपाकै नेताहरुले बताउनु थालेका छन् । विषेश गरेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले सहकार्यका लागि प्रचण्डको प्रतिवेदन फिर्तालाई मुख्य सर्तको रुपमा अगाडि सारेका हुन् ।

प्रचण्डको प्रतिवेदनलाई कुण्ठापत्रको संज्ञा दिदै उनले त्यसलाई प्रतिवेदन मानेर छलफल गरिएमा आरोप लागेको वा लगाउने पक्ष मध्ये एउटा पक्ष कारबाहीमा पर्ने भएकाले फिर्ता गर्नु पर्ने तर्क गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता बास्कोटाले भने, “आरोपपत्र फिर्ता हुनुपर्छ, नत्र पुष्टि हुनुपर्छ, पुष्टि भएमा कारबाही गर्नुपर्छ, भएन भने भ्रामक र गैैहजिम्मेबार, तथ्यहिन गर्नेलाई कारबाही हुनुपर्छ, कुनै न कुनै पक्षलाई कारबाही हुने भएपछि सम्वन्ध राम्रो हुदैन, सँगै रहन सकिदैन ।”

प्रतिवेदनमा प्रधानमन्त्री ओलीमाथी मिथ्या आरोप मात्रै लगाइएको दावी गर्दै उनले आरोपहरुलाई पुष्टि गर्न चुनौती दिए ।
पूर्व सञ्चारमन्त्री समेत रहेका नेकपा नेता बास्कोटाले भने, “उनीहरुले पार्टी कमिटिमा बहुमत छ भनेका छन्, त्यसो भए केपी ओलीलाई दोषी सावित गरेर कारबाही गरे हुन्छ नी त ।”

अहिले सञ्चार माध्यम र सचेत नागरिकहरु धेरै भएकाले कसैले लगाएको मिथ्या आरोपलाई जनताले पत्याउने अवस्था नरहेको तर्क उनले गरे । अरु नेताहरु प्रधानमन्त्री भएका बेलामा पनि अनेक काण्ड सार्वजनिक भएको बताउदै उनले राज्यका निकायबाट ती सवै काण्डको एक एक छानविन गर्नुपर्नेमा जोड दिए ।

“प्रचण्डजीको दस्तावेज राजनीतिक फण्डा हो, प्रतिवेदन हैन, त्यस्ताको जवाफ दिनु पनि उचित छैन,” उनले भने।
आफ्नै पार्टीका अध्यक्ष प्रचण्डलाई उनले जहाँ गएपनि भत्काउने र ध्वंस गर्ने पात्रको रुपमा फेरी प्रमाणित भएको टिप्पणी गरे ।-रेडीयोएनआरएन/Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्