Logo

नेपाल–भरत सिमाना खोल्नुपर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरु धर्नामा



मलंगवा, ३ मंसिर । नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै सर्लाही सदरमुकाम मलंगवास्थित स्थानीयहरुले सिमाना नजिकै पुगेर धर्ना दिएका छन् । मलंगवा सोनवर्षा सीमा नजिकै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा धर्ना दिएका हुन् । भारतसँग सिमाना जोडिएका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, प्रदेश सभा सदस्यहरु प्नि धर्नामा छन् ।

चाडपर्व र विहेबारीको समयमा नाका बन्द हुँदा सीमा नजिकैका स्थानीयहरुको जनजीवन प्रभावित भएको भन्दै उनीहरुले नाका खोल्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् । सरकारलाई ध्यानाकर्षण गराउन धर्ना कार्याक्रमको आयोजना गरिएको सर्वपक्षीय जिल्ला संघर्ष समिति सर्लाहीका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिएका छन् ।

चाडपर्वको समयमा सीमानाका बन्द हुँदा सीमा आसपासका बासिन्दाहरुको जनजीवन प्रभावित भएको सभापति चौधरीले बताएका छन् । पटक पटक नागरिक समाजहरुले नाका खोल्नका लागि आग्रह गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिनु परेको चौधरीले गुनासो गरे ।

‘सरकारले कोरोना महामारीको नाममा जनतालाई दुख दिने काम गरेको छ । धर्ना कार्यक्रमबाट कुनै सुनुवाइ भएन भने आन्दोलनको अर्को चरणको कार्यक्रम गर्नेछौँ,’ चौधरीले बताए । सिमानाका खोल्यो भने कोरोना भित्रिने भन्दै सरकारले अघोाषित नाकाबन्दी गरेको प्रदेशसभा सदस्य अशोक यादवले आरोप लगाएका छन् ।

मुख्य नाका खोल्यो भने कोरोना भित्रिन्छ भनेर सरकारले सीमा नाका बन्द गरेको छ । तर, प्रहरीको अगाडि नै चोरबाटो भएर दिनहुँ हजारौं मानिस भारतबाट नेपाल र नेपालबाट भारत आवत जावत गरिरहेका छन् । तस्करहरु सामान ढुवानी गरिराखेका छन्, आलु प्याजका ट्रकहरु भित्री नै रहेको छ । अन्तर्राष्ट्रिय हवाइ उडान सधैं भइरहेको छ । यस्तो अवस्थामा कोरोना लाग्दैन । तर, सीमा नाका खाल्यो भने कोरोना भित्रिन्छ भन्दै सरकारले मधेशी समुदायसँग भेदभाव गरेको छ,’ यादवले भने ।

धर्नाबाट सुनुवाइ भएन भने कडा आन्दोलन गर्न आफूहरु बाध्य हुने प्रदेशसभा सदस्य यादवले चेतावनी दिएका छन् । यस्तै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले सरकार पूर्वाग्राही भएर नाका बन्द गरेको आरोप लगाए । साथै बिहेबारीको समयमा सीमा बन्द हुँदा कतिपय मानिसको बिहेबारी समेत रोकिएको उनीहरुको गुनासो छ ।

धर्ना कार्यक्रममा प्रदेशसभा सदस्य अशोक यादव, गौरी नारायण साह, उपेन्द्र सिंह कुशवाहा, हरिपूर्वा नगरपालिका मेयर सीयाराम राय, मलंगवा नगरपालिका मेयर निरसल साह, गोडैता नगरपालिका मेयर देवेन्द्र यादव, बलरा नगरपालिका मेयर अभय कुमार सिंह, पर्सा गाउँपालिका अध्यक्ष किसुनदेव राय लगायत नागरिक समाजका अगुवा, उद्योग वाणिज्य संघ मलंगवाका पदाधिकारीहरुको सहभागिता रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्