Logo

नेकपा फुट्नै लागेको हो ? योगेश भट्टराईले लेखे-सर्वाधिक कठिन समय !



काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चुलिएको छ । गत शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले विवाद समाधानभन्दापनि समस्या झनै थपिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज बस्ने भनिएको सचिवालय बैठक पर धकेल्ने पक्षमा छन् । र, सोहीअनुसार कसरत गरिरहेका छन् ।

तर, कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यहरुले भने बैठक निर्धारित समयमै बालुवाटारमा बस्ने जनाएका छन् । आजको बैठक टार्नको लागि ओलीले निकै कसरत गरेका थिए । त्यसको लागि आफ्नो दूत बनाएर महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई समेत दाहाललाई भेट्न खुमलटार पठाएका थिए । तर, दाहालले अब बैठक सार्ने वा के गर्ने ? भन्ने कुरा सचिवालय बैठक बसेपछिमात्रै तय हुने भन्दै ओलीको प्रस्ताव ठाडै अस्विकार गरिदिए ।

हिजो दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए । करिब अढाई घण्टा लामो भेटवार्तामा के के कुरा भयो ? भन्नेबारे बाहिर स्पष्ट पारिएको छैन् । तर, पार्टी एकतालाई जोगाउँदै दुई अध्यक्ष मिलेर जान राष्टपतिले सुझाएको कुरा बाहिर आएको छ । दाहाल शितलनिवासबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।

नेकपाका नेता तथा कार्यकर्ताहरु पनि यतिबेला दुई पक्षमा विभाजित भएका छन् । एकले अर्कोलाई आरोपप्रत्यारोप लगाईरहेका छन् । पार्टीका स्थायी कमिटी सदस्यहरुले भने सामाजिक सञ्जालमार्फत आ आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । डा. भीम रावलले लेखेका छन्,“नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।”

यता, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि सामाजिक सञ्जालमा लेखेका छन्,-“सर्वाधिक कठिन समय !” उनको लेखाईले पनि स्पष्ट हुन्छ कि नेकपा गम्भीर दुर्घटनाको मोडमा छन् ।



प्रतिक्रिया दिनुहोस्