काठमाडौं, ३ मंसिर । पार्टीभित्रको आन्तरिक विवाद चुलिएको बेलामा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज सचिवालय बैठक बस्नुअघि भेटवार्ता हुने भएको छ । नेकपानिकट उच्च स्रोतले जनाएअनुसार सचिवालय बैठक बस्नुअघि एकपटक दुई अध्यक्षबीच छलफल हुनेछ ।
नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजेलाई तय भएको छ । तर, यही समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक डाकेपछि स्थिति झनै बिग्रिएको छ । गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन, अन्तरपार्टी निर्देशन र यो बीचमा अध्यक्षद्धयबीच आदानप्रदान भएको पत्रमाथि आजको सचिवालय बैठकमा छलफल गर्ने कार्यसूचि छ ।
तर, ओली पक्ष भने आजको बैठक सार्ने पक्षमा थियो । यसकोलागि प्रधानमन्त्री ओलीले महासचिव विष्णु प्रसाद पौडेललाई दाहालनिवास खुमलटार पठाएका थिए । जवाफमा दाहालले आजको निर्धारित बैठक कुनैपनि हालतमा नसार्ने अडान लिएका थिए । FILE PHOTO