काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफूहरु पार्टीको पक्षमा उभिएको र एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।
उनले भने,”जसले पार्टी फुटको लागि कदम चाल्छ, त्यसको विरोधमा हामी उभिएको हो । प्रधानमन्त्रीले फुटका लागि कदम चाल्दा हामी त्यसको विरोधमा उभिएका थियौं । अहिले अब पछिल्लो समय प्रचण्ड, माधव नेपालले फुटका लागि प्रयत्न गर्दा पनि हामी त्यसको विरोधमा उभिएकै हो । अहिले पछिल्लो समय प्रधानमन्त्रीबाट केही कमिकमजोरी भयो । स्थायी समितिका बैठकका निर्णयहरु कार्यान्वयन गर्ने कुरामा जुन स्पिरिट उहाँले देखाउनुपर्दथ्यो, त्यसमा उहाँको केही कमिकमजोरी भयो । त्यो कुरा पनि हामीले उहाँलाई गम्भीरतापूर्वक भनेका छौं ।”