काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक मंसिर १३ गते बस्नेगरि सम्पन्न भएको छ । अब बस्ने सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने सहमति बनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकपछि मिडियाकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,”पार्टीमा देखापरेको समस्या अथवा पार्टीको संकटलाई लिएर त्यसको निवारणसम्बन्धी विषयमा छलफल गर्न आजको सचिवालय बैठक राखिएको थियो । र, आजको सचिवालयको बैठक सम्पन्न भएको छ । यस बैठकले कमरेड अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट अर्को प्रस्ताव प्रस्तुत गर्ने कुरा सचिवालयमा जानकारी गराईएको छ । अध्यक्ष कमरेड केपी ओलीको प्रस्ताव समेतलाई लिएर अब मंसिर १३ गते सचिवालयको बैठक बस्नेछ । र, सचिवालयको बैठकमा पार्टीको संकट र निवारण सम्बन्धमा यसअगाडि प्रस्तुत सबै सामाग्री र प्रस्ताव र, अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्ने प्रस्तावसमेतका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिनेछ । यसअघि नै निर्धारित केन्द्रिय कमिटीको बैठकको कार्यतालिकामा केही परिवर्तन गरिएको छ । जसअनुसार मंसिर १८ गते स्थायी कमिटीको बैठक बस्नेछ र मंसिर १५ गते बस्ने भनिएको केन्द्रिय कमिटीको बैठक मंसिर २५ गते बस्ने भनिएको छ ।”
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम