Logo

मेलम्ची खानेपानी आयोजना: वितरण प्रणाली तयारी अवस्थामा



काठमाडौं, मंसिर ४ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ ।

पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ ।

मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले बताएका छन्। थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५।५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।

चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ ।

नौवटा पानी ट्याङ्की सम्पन्न
सुन्दरीजलमा आएको मेलम्चीको पानीलाई विभिन्न स्थानमा निर्माण भएका पानी सङ्कलन केन्द्रका ट्याङ्कीमा भण्डारण गरी वितरण गरिनेछ । यसका लागि उपत्यकामा १० वटा ट्याङ्की निर्माण गरिएको छ ।

नौवटा तयारी अवस्थामा छन् । आयोजनाका अनुसार आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण सम्पन्न भएका छन् । भक्तपुर कटुञ्जेको भने निर्माण भइरहेको छ । १० वटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ । यी पोखरी तीन हजारदेखि नौ हजार पाँच सय घनमिटर क्षमताका छन् ।

पाँचमध्ये एक प्रशोधन केन्द्र सम्पन्न
उपत्यकाको फोहोर पानी प्रशोधन गर्न करिब छ अर्ब २९ करोड रुपियाँ लगानीका प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । आयोजना निर्देशनालयले पाँचवटा प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न गरेको छ । बाँकी चारवटाको काम करिब २५ प्रतिशत सम्पन्न छ । प्रशोधन केन्द्र निर्माणको काम करिब तीन वर्षअघि सुरु भएको थियो । गुह्येश्वरीको प्रशोधन केन्द्र सम्पन्न भएको छ तर ग्याँसबाट बिजुली निकाल्ने काम भने बाँकी रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्