काठमाडौं, मंसिर ४ । केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेको पाइएको छ ।
कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अधिकांश कर्मचारीले कोरोनाको बहानामा देशकै केन्द्रीय प्रशासन कार्यालय सिंहदरबारमा नै तोकिएको पोसाक नलगाई कार्यालय आउने गरेको बताए।
उनले कर्मचारीले पोसाक भत्ता लिएपछि सबै कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्छ, कोरोना र पोसाकको कुनै सम्बन्ध छैन, कोरोनाको बहानामा तोकिएको पोसाक नलगाई कर्मचारी कार्यालयमा प्रवेश गर्न नपाइँदैन बताए ।
सिंहदरबार भित्रका कार्यालय मात्र नभई अधिकांश कार्यालयमा कार्यरत निजामती कर्मचारीले तोकिएको पोसाक नलगाई काम गर्ने गरेको उनको भनाई छ । पहिला प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीले पोसाक लगाएका छन् कि छैनन् भन्ने छड्के गर्ने गरिन्थ्यो, अहिले त्यो पनि कोरोनाकै बहानामा अनुगमन गर्ने गरिएको छैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ सचिवको रूपमा एकनारायण अर्याल आइसकेपछि मन्त्रालयभित्र कार्यरत कर्मचारीलाई पोसाक अनिवार्य गर्न निर्देशन गरिएको छ । मन्त्रालयमा कार्यरत कर्मचारी मात्र नभई मन्त्रालयमा विभिन्न कामका लागि आउने कर्मचारीलाई समेत पोसाक अनिवार्य लगाउन निर्देशन दिइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।