Logo

‘ओलीलाई सत्ताबाट हटाउन प्रचण्ड नेतृत्वको समूह लागेको’ खबर भारतीय मिडियामा



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत लेख्न थालेका छन् । ती सञ्चारमाध्यमहरुले ओलीविरुद्ध प्रचण्डसहितका नेताहरुको मोर्चाबन्दी भएको र सत्ता गिराउन खोजेको विषय उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाले नेपालमा राजनीतिक अन्यौलता बढेको लेखेको छ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड नेतृत्वको ओलीविरोधी समूहले सत्ताबाट हटाउन मोर्चा बनाएर दबाब बढाएको समाचारमा उल्लेख छ । उसले चिनियाँ राजदूत होउ यान्कीको सक्रियताबारे समेत लेखेको छ । मंगलबार यान्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । यसअघि उनी नेकपाको विवाद मिलाउन संलग्न भएकी थिइन् ।

ओलीमाथि विभिन्न आरोप लगाएर प्रचण्डले प्रस्ताव दर्ता गरेको विषयबारे पनि टाइम्स अफ इन्डियाले लेखेको छ । प्रचण्डले पार्टी बचाउन ओलीलाई त्याग देखाउन समेत आग्रह गरेको उल्लेख छ । ओलीले प्रचण्डको प्रतिवेदन फिर्ता लिन आग्रह गरेको तर उनले अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

ओलीको चीनपरस्त पहिचान भएपनि पछिल्लो समय सन्तुलित रुपमा प्रस्तुत हुन थालेको भनिएको छ । भारतीय सेना प्रमुख एम एम नरवणेप्रति आलोचनात्मक बनेका उपप्रधानमन्त्री इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर उनले सकारात्मक संकेत दिएको समेत समाचारमा उल्लेख छ ।

भारतका विदेशसचिव हर्ष श्रृंगलको नोभेम्बरको अन्ततिर हुने भनिएको भ्रमणबारे समेत टाइम्स अफ इन्डियाले लेखेको छ । यसबाहेक वाणिज्य र ऊर्जा सचिव स्तरको भर्चुअल बैठकको सम्भावना समेत औल्याइएको छ । दुई देशबीच संवाद बढेको र भ्रमणको वातावरण पनि बढिरहेको अवस्थामा ओलीको सत्ता संकेटलाई लिएर भारतीय पक्षले गम्भीरतापूर्वक नियालिरहेको सन्देश टाइम्स अफ इन्डियाले दिएको छ ।



प्रतिक्रिया दिनुहोस्