Logo

नेकपाभित्र विदेशी चलखेल



काठमाडौं, ६ मंसिर । चिनियाँ विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्ने पत्रिका ग्लोबल टाइम्सले नेपाली काँग्रेसलाई ‘भारतपरस्त’ भनी आरोप लगायो । हुम्लामा चीनले सीमा मिचेको सम्बन्धमा काँग्रेसले विषय उठाएपछि ग्लोबल टाइम्सले यस्तो आरोप लगाएको हो । उसले नेपाल कम्युनिस्ट पार्टी र वर्तमान सत्तालाई भने मित्रशक्तिका रुपमा उल्लेख गरेको छ ।

उता भारतको पत्रिका टाइम्स अफ इन्डियाले भने यसै हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीनपरस्त’ भनी उल्लेख गरेको छ । तर, पछिल्लो समय उनको कदम सन्तुलित भएको र त्यसतर्फ काम हुनथालेको भन्दै आशा व्यक्त गरेको छ । यसरी काँग्रेसलाई भारतपरस्तको आरोप लाग्दा नेकपाप्रति चीनपरस्तको आरोप लागिरहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको विशेष सम्बन्ध छ । दुवै पार्टीबीच संयुक्त प्रशिक्षण समेत हुँदै आएको छ । कोरोना भाइरसको महामारीबीच पनि भर्चुअल बैठकहरु हुँदै आएका छन् । नेकपाको यस्तो सम्बन्ध भारत या अन्य देशको कुनै पार्टीसँग अहिलेको अवस्थामा छैन जुन चिनियाँ कम्युनिस्ट पार्टीसँग छ । चीनको एकमात्र दल कम्युनिस्ट पार्टी सत्तासँग सिधा जोडिएको छ । ऊसँगको नेकपाको विशेष सम्बन्ध अर्थपूर्ण छ ।

पछिल्लो समय नेकपाभित्रको विवादमा चीन प्रत्यक्ष अप्रत्यक्ष सक्रिय हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सत्ता संकट बढ्दा बेइजिङ र काठमाडौंबाट सक्रियता बढेको खुलस्त देखियो । यसअघिको सत्ता संकट हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीको चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टेलिफोन कुराकानी अर्थपूर्ण रह्यो । लगत्तै चिनियाँ राजदूत होउ यान्छी सक्रिय भइन् । उनले प्रधानमन्त्री ओलीका अलावा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेटवार्ता गरिन् । त्यो भेटले ओलीको सत्ता संकट टार्न भूमिका खेल्यो ।

अहिले फेरि ओलीमाथि सत्ता संकट आएको छ । यसले नेकपालाई दुर्घटनातर्फ बढाउँदैछ । नेकपाभित्र विवाद बढ्दै जाँदा चिनियाँ राजदूत यान्छीको सक्रियता बढेको छ । उनले मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । यान्छीले विस्तारै राजनीतिक सक्रियता बढाउँदै लगेकी छिन् । उनले नेकपाको दुर्घटना रोक्न कदम चालिरहेको बुझिएको छ । ओलीको सत्ता संकट टार्न पनि भूमिका खेल्न थालेकी छिन् ।

नेकपाभित्र विवाद चर्कदै जाँदा चिनियाँ रक्षामन्त्री हुई फेङ्गहे १४ मंसिरमा नेपाल आउँदैछन् । १३ मंसिरमा नेकपा सचिवालय बैठक तोकिएको छ । त्यसको भोलिपल्ट हुइ आउँदैछन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी, नेकपाभित्रको विवाद चर्कने बहानामा भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलसँगको प्रधानमन्त्री ओलीको भेट पनि हो । उनले पोर्टफोलियो मिचेर बालुवाटारमा गोयललाई भेटेका थिए । नेकपाभित्र यो कदममाथि प्रश्न उठेको छ । गोयलको भेटलाई लिएर चिनियाँ पक्षले ओलीमाथि आशंका गरेको विषय पनि छ ।

अर्कोतर्फ ओलीले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न खेलिरहेको भूमिकाप्रति समेत चीन गम्भीर छ । यसरी शक्तिराष्ट्रहरुको सक्रियता र स्वार्थको व्यवस्थापन ओलीका सामु चुनौती छ । उनीहरुको नेपालमा बढेको शक्तिसंघर्षले पनि ओलीको सत्तामाथि संकट बढाउने र त्यसलाई जोगाउनेसम्मको दुवै खेलहरु बढिरहेको छ । यसले नेकपाभित्र विदेशी हस्तक्षेप बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot