काठमाडौं, मंंसिर ७ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउदै सचेतना फैलाउन जनप्रतिनिधि घरघरमा पुग्नुपर्ने बताएका छन्
काठमाडौँमा शनिबार आयोजित ‘कोरोना महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने जनाएका हुन् ।
कोरोना महामारीको हालसम्म कुनै उपचार नरहेकाले नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने उनको भनाई छ । जनताले आफ्ना प्रतिनिधिलाई बढी विश्वास गर्छन्, बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उनले भने, ‘‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईं हामी सबैको हो ।’’
कोरोना महामारी सुरु हुँदा र अहिले लाखौँको सङ्ख्यामा पुग्दा एउटै धारणा वा तयारीले नपुग्ने भन्दै उनले परिस्थिति अनुसार सरकारले योजना बनाउनुपर्ने बताए । त्यसैगरी जनप्रतिनिधिले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको मापदण्ड तथा सरकारको निर्देशनलाई कार्यान्वयनमा साथ दिनुपर्ने सुझाव दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।