काठमाडौं, मंसिर ७ । कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अभाव भएको छ ।
कोरोना महामारी सुरु भएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पु(याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्दै रकम संकलन गरेको थियो ।
कोषमा रकम अभाव भएपछि कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलको अध्यक्षतामा हालै बसेको १२औं बैठकले कोषका लागि सरकारसँग थप १ अर्ब रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार सहायता कोषमा अहिले झन्डै ४ अर्ब रुपैयाँ रहेको छ । सो ४ अर्बबाट कोषले १ अर्ब रुपैयाँ माग गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सो कोषमा जम्मा भएको २ अर्ब ७७ करोड रुपैयाँमध्ये हालसम्म २ अर्ब ४५ करोडभन्दा बढी रकम सकिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न तथा संक्रमितको उपचारका लागि भन्दै सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थाले सो कोषमा रकम सहयोग गरेका थिए । पछिल्लो समयमा कोषमा सहयोग गर्ने दाताहरूको संख्यामा कमी आएपछि कोषमा रकम अभाव भएको हो । हाल कोषमा झन्डै ३० करोड रुपैयाँ मात्रै मौज्दात रहेको आजको राजधानी दैनिकमा खवर छ ।