Logo

अमरेश सिंह ओलीविरुद्ध सक्रिय



काठमाडौं, ७ मंसिर । नेपाली राजनीतिका अक्टोपसको परिचय बनाएका अमरेश सिंह फेरि सक्रिय भएका छन् । नेपाली काँग्रेसका सांसद समेत रहेका उनले राजनीतिक भेटघाटलाई तिव्र पारेका हुन् ।

सिंहले शनिबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमा पुगेर भेटेका हुन् । खुमलटार पुगेर उनी कोटेश्वर हान्निएका थिए । भेटमा नेकपाभित्रको अहिलेको विवादबारे उनले छलफल गरेका थिए । सिंह ओली कमजोर भएको भन्दै प्रचण्ड र नेपाललाई उचाल्न पुगेको चर्चा नेकपावृत्तमा चलेको छ ।

शान्ति प्रक्रियामा चर्चामा आएका सिंहले प्रचण्डसँग विशेष सम्बन्ध बनाएका छन् । दक्षिणसँग नजिक देखिएका उनले माधवकुमार नेपालसँग पनि सुमधुर सम्बन्ध बनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने अमरेश सिंहलाई पटक्कै रुचाउँदैनन् । ओली सत्तामा आएपछि उनको कुनै भेट भएको छैन । बरु सिंहले ओलीको चर्को आलोचना गर्दै भारतसँग विलौना गरिरहेको दाबी गरेका थिए । उनले ओलीले सिंगापुरमा भाजपा नेता राम माधवसँग विगतमा भेटेको र भित्री सम्झौता गरेको विषय पनि खुलाएका थिए । यद्यपि, यसको स्वतन्त्र पुष्टि भएको छैन ।

अमरेश सिंहले ओलीको दक्षिणसँगको माइक्रोम्यानेजको पहललाई कमजोर बनाउन भुमिका खेलिरहेको बुझिएको छ । उनी पूर्ण रुपमा ओलीविरुद्ध सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot