Logo

ओलीद्वारा देउवासँग सत्ता–सहकार्यको प्रस्ताव, दाहाल–नेपाल समूह जसपा फकाउँदै



काठमाडौं, ७ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वर्तमान सरकारको स्थायित्वमाथि नै प्रश्न उठेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएर अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश भएपछि नेकपाभित्रको विवाद झनै चुलिएको छ । यसको असर केन्द्रदेखि स्थानीय तहसम्म पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताहरु यतिवेला आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

हिजोमात्रै दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालनिकट स्थायी कमिटी सदस्य तथा तत्कालिन कार्यदलका सदस्य सुरेन्द्र पाण्डेमाथि ओली पक्षधर कार्यकर्ताहरु चितवनमा आयोजित पार्टी कार्यक्रममा अभद्र व्यवहार भएको छ । उक्त घट्नालाई लिएर वरिष्ठ नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले निन्दा र भत्र्सना गर्दै घट्नामा संलग्नलाई छानबिन गरि कारबाहीको माग गरेका छन् । नेकपाको सचिवालय बैठक यही मंसिर १३ गतेलाई तोकिएको छ । तर, बैठकभन्दा अघि ओली र दाहालबीच छलफल तथा वार्ता हुनुको साटो विपक्षी दलका नेताहरुसँग कसरी सहकार्य गर्न सकिन्छ ? भनेर छलफल भएका समाचार बाहिर आएका छन् ।

हिजोमात्रै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवासँग तीन घण्टा लामो छलफल गरेको रहस्य आज बाहिरिएको छ । नेकपाभित्र आन्तरिक विवाद चुलिएको अवस्थामा ओलीले विपक्षी दलका नेतासँग गरेको भेटवार्ता आँफैमा अर्थपूर्ण रहेको छ । स्रोतकाअनुसार ओलीले आफ्नो पार्टी फुटेपनि सत्ता सहकार्यको लागि आफू तयार रहेको र त्यसको लागि के के गर्नुपर्ने हो ? त्यो सबै गर्न आफू तयार रहेको भन्दै कांग्रेस सभापति देउवालाई कति र कुन मन्त्रालय लिने ? र अरु कुन कुन पद लिने हो ? त्यो भन्न आग्रह गरेको बुझिएको छ । यद्धपी देउवासँगको प्रधानमन्त्रीको भेटवार्ता भने अहिलेसम्म बालुवाटारले सार्वजनिक गरेको छैन् । र, मिडियामा दुई नेताबीच भेटवार्ता भएको भनेर आएको समाचारमा सत्यता नभएको बालुवाटारको दाबी छ । ‘यसअघि पनि प्रधानमन्त्री ओलीले पार्टीभित्र विवाद चुलिँदा देउवासँग सत्ता–सहकार्यको लागि प्रस्ताव गरेका थिए । यसपटकको भेटवार्तामा गरेनन् ? भन्न सकिँदैन्’–दाहाल–नेपालनिकट एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग भने ।

देउवाले प्रचण्डसँग लिए बदला

ओलीले आफूलाई सरकारबाट हटाउन दाहाल–नेपालले तयारी गरेको कुरा आफूनिकट नेता तथा सांसदहरुलाई ब्रिफिङ गरिसकेका छन् । र, दाहाल–नेपालले आफूविरुद्ध चाल्ने सबैखाले कदमको शानदारसँग सामना गर्न तयार रहनपनि आफूनिकट नेता तथा कार्यकर्ताहरुलाई ओलीले निर्देशन दिईसकेका छन् । नेकपाको कुल सांसद १ सय ७४ जना छन् । त्यसमा ओलीको पक्षमा ७८ जना रहेको दाबी गरिएको छ । उता, दाहाल र नेपालको पक्षमा क्रमशः ५३ र ४३ जना रहेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार टिकाउने बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । सत्तारुढ नेकपामा कुल १७४ सांसद छन् ।

संसदीय दलमा प्रधानमन्त्री ओलीको पक्षमा ७८ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ६३ सांसद छन् । बुहमतको सरकार बनाउनको लागि १ सय ३८ संख्या आवश्यक छ । सरकार बनाउनको लागि ओलीले कांग्रेससँग सहकार्य गर्दामात्रै पनि आवश्यक बहुमत पुग्छ । सत्ता–साझेदारीकै लागि ओलीले देउवासँग विशेष भेटवार्ता गरेको बुझिएको छ । देउवाले ग्रिन–सिग्नल दिए ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउनेछन् । र, कांग्रेससँग मिलेर सरकार बनाउनेछन् ।

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

ओलीले देउवासँग सत्ता–साझेदारीको लागि केन्द्रित रहेर भेटवार्ता गरेको सुईँको पाएपछि दाहाल–नेपालले पनि विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरुसँग यसअघि नै छलफल गरेको बुझिएको छ । स्रोतकाअनुसार दाहाल र नेपालले जसपाका नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोसँग सत्ता–साझेदारीमा केन्द्रित रहेर छलफल गरेको बुझिएको छ । अहिले संसदमा जसपाको ३३ सिट छ । दाहाल–नेपालको पक्षमा ९६ र जसपाको ३३ सिट जोड्दा कुल १ सय २९ मात्रै पुग्छ । सरकार बनाउनको लागि कुल १ सय ३८ सिट आवश्यक छ । तर, दाहाल–नेपालले आफूहरुको पक्षमा ९६ भन्दापनि धेरै सांसद रहेको दाबीका साथ सत्ता–साझेदारीको लागि जसपाका नेताहरुसँग छलफल बढाएका छन् । Photo Source : Social Media



प्रतिक्रिया दिनुहोस्