काठमाडौं, ७ मंसिर । स्वास्थ्य मन्त्रालयले चार ल्याबलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्किट ल्याबोटरी, सुर्या हेल्थ र ह्याम्स अस्पतालसँग स्पष्टिकरण माग गरेको आइतबारको प्रेस विफ्रिङमा डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
गौतमले भने, ‘कोभिड–१९ को पिसीआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको १ महिना र पोजेटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी ल्याबहरुलाई स्पष्टिकरण सोधिएको हो ।’
उनले यी अस्पतालहरुमा पिसीआर परिक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि जापान, हङकङ र दुबईमा गएका नेपालीहरुमा सम्बन्धित देशहरुमा कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बारेमा स्वास्थ्य मन्त्रालयलाई पर्यटन मन्त्रालयले पत्राचार गरेको बताए ।
यस विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको नेतृत्वमा छानबिन समिती गठन गरेको थियो । उक्त समितीको प्रतिवेदनको आधारमा यी अस्पतालहरुलाई स्पष्टिकरण सोधिएको डा. गौतमले जानकारी दिए ।