काठमाडौं, ७ मंसिर । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि तान्नुपर्ने भन्दै दायर रिटको पेशी चढेपनि सुनुवाई भएन । सर्वोच्च अदालतमा आज पेशी चढेपनि उक्त मुद्दा नभ्याइएको सूचीमा परेको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उनीहरुलाई पनि बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई पनि तान्नुपर्ने भन्दै गत वर्षको २९ माघमा रिट दायर गरेका थिए । आज उक्त रिटको पेशी चौंथो नम्बरमा चढेको थियो । यसलाई न्यायाधीशहरु आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासमा राखिएको थियो । पेशी तोकेर अग्राधिकार दिइएको उक्त रिट अन्तमा नभ्याइएको सूचीमा परेको हो ।
तत्कालिन उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, मन्त्रीहरु छविराज पन्त, चन्द्रदेव जोशीका अलावा उच्च सरकारी अधिकारीहरुसहित एक सय ७५ जनामाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा मुद्दा दायर गरेको थियो । प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि तान्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले रिट दर्ता गरेका थिए ।