काठमाडौं, ८ मंसिर । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छिन् । अध्यक्ष दाहालको निवास खुमलटार पुगेर राजदूत यान्छीले भेटवार्ता गरेकी हुन् । दाहालनिकट स्रोतले जनाएअनुसार उक्त भेटवार्तामा नेपाल–चीन द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो ।
भेटको क्रममा राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सि जिनपिङले लेखेको पुस्तकसमेत उपहार दिएकी थिईन् । नेकपाभित्रको आन्तरिक विवाद चुलिएको भेलमा राजदूत यान्छीको सक्रियता बढेको छ । यसअघि उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग तीन घण्टा लामो भेटवार्ता गरेकी थिईन् । यसअघि पनि बैशाखमा नेकपाभित्र आन्तरिक विवाद चुलिएको बेलामा राजदूत यान्छीको सक्रिय भूमिकालाई लिएर आलोचना भएको थियो । अहिलेपनि उनको सक्रियतालाई लिएर कुटनीतिक क्षेत्रका जानकारहरुले सकारात्मक टिप्पणी गरेका छैनन् । FILE PHOTO/ReportersNepal