काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा जे जस्ता एजेन्डा उठेपनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शक्तिसंघर्ष नै मुख्य हो । ओली कुनै हालतमा राजीनामा नदिने र प्रचण्ड सत्ताबाट हटाउन खोज्ने परिस्थिति विकास हुँदै गएको छ ।
नेकपा सचिवालयमा दुई अध्यक्षले छुट्टाछुट्टै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि विवादले अझ चर्को रुप लिएको छ । ओली फरक प्रस्ताव फिर्ता गर्न माग गरिरहेका छन् । तर, प्रचण्ड कुनै हालतमा फिर्ता नगर्ने अडानमा छन् । प्रचण्डले दर्ता गरेको प्रस्तावमा ओलीमाथि गम्भीर आरोप छ । यो पुष्टि भएमा उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हुन्छ । त्यसैले ओली यो प्रस्ताव फिर्ता गर्नुपर्ने पक्षमा छन् ।
नेकपाभित्र बहाना जे सुकै गरेपनि अब ओली र प्रचण्डबीच सत्तासंघर्ष चुलीमा पुगेको छ । सत्ताको यो लडाईंमा विभिन्न रणनीतिहरु देखापर्न थालेका छन् । ओली र प्रचण्ड दुवै आक्रामक बन्दै गएबाट टकराव झन् बढ्ने देखिन्छ ।
ओली घेराबन्दी तोड्न सक्रिय छन् । उनी पूर्व एमालेबीचको एकता देखि काँग्रेससँग सत्ता समिकरणसम्मको विकल्प तयार गर्न लागिपरेका छन् । संसद बिघटन देखि मध्यावधि चुनावका अलावा संकटकाल घोषणाको कदम पनि नकार्न सकिदैन ।
प्रचण्ड पनि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन सहमत भएर भएपनि ओलीलाई सत्ताबाट हटाउन लागिपरेका छन् । उनी ओलीसँगको शक्तिसंघर्षमा पछि हट्ने सम्भावना कम देखिदैछ ।
अहिले ओली र प्रचण्डबीचको शक्तिसंघर्षमा नेकपाभित्रका शक्तिशाली नेताहरु सहभागी भएका छन् । ओलीलाई सचिवालयका इश्वर पोखरेल र विष्णु पौडेलले खुलेर साथ दिएका छन् । रामबहादुर थापा बादल पनि खुलेर ओली पक्षमा नलागेसम्म उतै ढल्किएका छन् । उनीहरु सबै यो विवादमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न लागिपरेका छन् ।
प्रचण्डलाई वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा नेकपा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ छ । नेपाल प्रधानमन्त्री बन्ने मौका छोप्दैछन् । खनालको आफ्नै चाहना छ । नेकपाका हेभिवेट नेताहरु अहिलेको विवादमा कित्ता छुट्याएर लागेका छन् ।
नेपाली काँग्रेस पनि नेकपाभित्रको विवादमा अप्रत्यक्ष रुपमा प्रवेश गरेको छ । सभापति शेरबहादुर देउवाले चाल्ने भूमिकाले नेकपाभित्रको विवादमा कस्तो टुंगो लाग्छ भन्नेमा असर पार्न सक्छ । देउवाले ओलीलाई साथ दिएमा मात्र पनि सत्ता संकट टर्न सक्छ । ओलीलाई पार्टीभित्रबाट बहुमत सचिवालय सदस्य मिलेर प्रहार गरेपनि काँग्रेसको साथले फरक परिस्थिति निर्माण गर्न सक्छ ।
विदेशी शक्तिको पनि नेकपाभित्रको विवादमा प्रवेश बढेको छ । चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरुसँग राजनीतिक भेट तिव्र पारेकी छिन् । उनले विगतमा पनि नेकपाको सत्ता संकट टार्न भूमिका खेलेकी थिइन् । भारतका गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयल विशेष विमानबाट आएर बालुवाटार पसेर प्रधानमन्त्री ओलीलाई भेटेको विषय पनि नेकपाभित्र कलह ल्याउने कारण बनेको छ । नेकपाभित्र ओलीविरोधी पक्षले यो घटनामाथि गम्भीर प्रश्न उठाएका छन् ।
अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयले पनि नेकपाभित्र विवाद बढाएको छ । एमसीसी यथास्थितिमा पारित गर्न प्रधानमन्त्री ओलीले दबाब बढाएका छन् । तर, प्रचण्डलगायत सचिवालयका बहुमत सदस्य एमसीसी यथास्थितिमा पारित गर्न नहुने अडानमा छन् । यो विवादलाई अमेरिकाको नेकपाभित्रको विवादमा घुमाउरो पाराले देखिएको प्रभावका रुपमा लिन सकिन्छ । यसरी नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीचको टकरावमा स्वदेशी देखि विदेशी शक्तिकेन्द्रहरुको प्रवेश देखिनथालेको छ ।