Logo

नेकपा विवादः कार्यकर्ता मिल्ने शीर्ष नेता भिड्ने तयारीमा



काठमाडौं, मंसिर ९ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवाद थप चर्किंदै गएको छ । नेकपाको विवाद सहमतितर्फ भन्दा पनि आरोप प्रत्यारोप सँगै झन् चुलिएको हो ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनको लिखित जवाफ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार गरिरहेका छन् ।

सचिवालय बैठक यही मंसिर १३ गतेका लागि बोलाइएको छ । सचिवालय बैठक बस्नुअघि नै केही महत्वपूर्ण सहमति गराउन नेताहरुले दौडधूप गरे पनि अध्यक्षद्वय ओली र प्रचण्ड आ–आफ्नै अडान र रणनीति बनाउन व्यस्त छन् ।

सचिवालय बैठकमा पेस भएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल समूहका लागि प्रतिष्ठाको विषय बनेको छ । कार्यकर्ता पार्टी एकताको पक्षमा रहे पनि शीर्ष तहमा देखिएको जुँगाको लडाइँका कारण पार्टी एकता नै संकटमा पर्ने त होइन भन्ने चासो र चिन्ता पनि कार्यकर्तामा देखिएको छ । पाँच वर्ष सरकार सञ्चालन गर्ने गरी जनताले मत दिए पनि तीन वर्ष नपुग्दा नेकपाको आन्तरिक किचलोका कारण पुनः सत्तामोह देखिएको छ ।

सचिवालयमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने ओली पक्षको अडान रहेको छ भने प्रचण्ड पक्षले प्रतिवेदन पास गरेर जानुपर्ने अडान लिएको छ । सचिवालय बैठकबाट प्रचण्डको प्रतिवेदन पारित भएको अवस्थामा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हुन्छ ।

तर ओलीले प्रचण्डले पेस गरेको प्रस्तावको बुँदाबुँँदामा लिखितरुपमा नै जवाफ दिने जानकारी सचिवालय बैठकमा गराइसकेका छन् । पत्र विवादले यति बेला नेकपाभित्र संकट गहिरिँदै गएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot