Logo

सगरमाथा जोड्ने पदमार्गमा मोटरेबल पुल



सोलुखम्बु, मंसिर ९ । विश्वका पर्यटकको आकर्षणको केन्द्र मानिने पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रलाई सीधा जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ ।राजनीतिक खिचतानीले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको सो पुलको १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे ।

मुख्यमन्त्री राईले सगरमाथाको फेदलाई मोटरबाटोले जोड्न सके स्वर्गीय निम दोर्जे शेर्पाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । उनले सो पुलले नेपालको सबभन्दा होचो ठाउँ झापाको केचनाकवल र संसारकै अग्लो ठाउँ सगरमाथालाई जोड्ने काम गरेको बताए। संघीयताविरुद्ध आवाज उठिरहेका बेलामा संघीयताकै कारणले विकासको काम अघि बढेको उनको भनाइ थियो ।

संसारकै अग्लो छानो सगरमाथा छुवाउने पदमार्गका रुपमा लिइएको माप्य–खुम्बु मितेरी मोटरेबल पुल निकै तामझामसहित औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

ठेकेदार कम्पनी जलप नेपालले ओर्लाङघाटस्थित सो पुलको निर्माण कार्य गत वैशाखमै सम्पन्न गरेको थियो । माप्य र खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयको लाइफ लाइन मानिएको सो मोटरेबल पुल निर्माणका लागि संघीय सांसद कोषमार्फत १ करोड, प्रदेश सरकारबाट २ करोड र माप्य दूधकोसी गाउँपालिका तथा खुम्बु पासाङल्हामु गाउँपालिकाले ५०–५० प्रतिशत खर्च बेहोरेका थिए ।

९ करोड ४५ लाखको डीपीआर बनेपछि टेन्डर आह्वान गरिएकोमा जलप नेपाल कम्पनीले त्यसको १३ प्रतिशत न्यून रकममा काम गरेको थियो । कम्पनीले जम्मा ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्