Logo

यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ



केपी शर्मा ओली :यस कार्यक्रमका सभाध्यक्ष महोदय, मेरो भ्रमण टोलीमा संलग्न आदरणीय सुवासचन्द्र नेम्वाङज्यू, माननीय मन्त्रीज्यू, मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण साथीहरु र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु,

आज यस अत्यन्तै दुर्गम ठाउँमा नै भनौ, ताप्लेजुङको यस घुन्सामा आउने मौका मिल्यो । धेरै मेहनत र कोशिस गरेर नै हामीले यो अवसर जुटायौं । यस ठाउँमा आइपुग्दा मलाई हिमाल चढ्न त गाह्रो छ, तर हिमाल देखिएको छ, यो देख्दा नै आनन्द लागेको छ । यो ठाउँ यत्तिको विकसित भएको पाउँदा मलाई एकदमै खुशी लाग्यो । घुन्सा फाउन्डेशनका अध्यक्ष याङजोङ शेर्पाको पहलमा यो स्वास्थ्य चौकी पनि निर्माण भएको छ । बस्ने क्वार्टर पनि निर्माण भएको छ । अनलाइन क्लासहरु चलाउने भवन पनि निर्माण भएको छ । त्यसैगरी यहाँ विद्युत पनि आएको छ ।

खानेपानीको व्यवस्था पनि यहाँ भएको छ । संचार सुविधा आइसकेको छ । अनलाइन क्लास चल्नेसमेत स्थिति भएको छ । टुजी सेवालाई छिट्टै फोरजी सेवामा स्तरोन्नति गरी संचालन गर्ने साथीहरुले भन्नुभएको छ । जेहोस् फोरजी सेवा पनि संचालन हुँदैछ । अब यहाँ मोटरेवल बाटोले जोड्ने कुरा टिपताला पास र उता दक्षिणमा…आउँछ । त्यहाँ जोड्ने कार्य भइरहेको छ । चीनतिर पनि बाटो खुलिसकेको छ । यता हाम्रोपट्टि पनि ट्रयाक खोल्न ६ किलोमिटर मात्रै बाँकी छ, अरु खुलिसकेको छ । यसलाई स्तरोेन्नति गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम तीन वर्षभित्रै सकिन्छ । त्यसपछि ब्ल्याकड्रप (कालोपत्रे) गर्ने काम हुन्छ । तीन वर्षभित्र यी सुगम ठाउँहरु हुन्छन् ।

म तपाईंहरुलाई खुशी व्यक्त गर्न चाहन्छु । यति दुर्गम ठाउँमा अब यहाँ संचार सेवा आइपुगेको छ । विद्युत सेवा आइसकेको छ । आधारभूत विद्यालय छ । र, यहाँ विरामीहरुले उपचार पाउने स्थिति बनेको छ । स्वाभाविक रुपमा यहाँ प्राथमिक खालकै उपचार सेवा प्राप्त हुने हो । किनभने यहाँ सुविधासम्पन्न उपचार हुने त होइन । तर पनि केही नभएको यस ठाउँमा यस स्तरको व्यवस्था गरिएको पाउँदा अत्यन्त खुशी लागेको छ । यहाँ आयोडिनयुक्त नुन नहुँदाखेरी समस्याहरु रहेका छन्, त्यसलाई ध्यानमा राखेर अब आयोडिनयुक्त नुन उपलब्ध गर्ने व्यवस्था हुँदैछ । त्यसले विभिन्न स्वास्थ्य समस्याहरुलाई ठीक गर्छ । त्यतापट्टि पनि ध्यान गएको छ ।
भर्खरै मलाई मेरी श्रीमतीले विद्यालयमा छात्रावृत्तिको लागि ५ लाख रुपियाँ सहयोग गर्ने भनेर भनेकी छन् । उत्कृष्ट, गरिब, जेहेन्दार विद्यार्थीहरुले त्यसबाट छात्रवृत्ति पाउन सकुन् । यसबाट लगभग त्यसबाट ५ जना बालिका र ५ जना बालक गरी १० जनलाई छात्रावृत्ति दिन सकिन्छ । यो व्यवस्था विद्यालयले मिलाउने काम गरोस् । विद्यालयका पुराना शिक्षकहरु लोकथान प्रसाईं, एलसी गुरुङलाई मैले यहाँ देखिराखेको थिएँ । तपाईंहरु पुराना शिक्षकहरु हुनुहुन्छ । यहाँहरुले त्यसको समुचित प्रबन्ध गर्नुहुनेछ भन्ने मैले ठानेको छु । यहाँ हस्पिटल हामीले हे¥यौं, कम्मल रहेनछ । त्यसकारण १० वटा कम्मल उपलब्ध गराउने भनेर मेरी श्रीमतीले भनिदिनू भनेकी छन् । १० वटा ब्लाङकेटहरु यहाँ उपलब्ध गराइनेछ । यी त ससाना कुराहरु भए । व्यक्तिगत रुपमा उनले गर्ने कुराहरु मात्रै भए ।

सरकारका तर्फबाट गर्ने कामको हकमा, मुख्य रुपमा यहाँ बाटो र विद्युतको स्तरोन्नति गर्ने माग साथीहरुले यहाँ ज्ञापनपत्रमा राख्नुभएको छ र नियन्त्रित क्षेत्र हटाउनु पर्ने कुराहरु राख्नुभएको छ । र, यसले पर्यटनका लागि सजिलो बनाउने छ । रेष्टिक्टेड एरिया भनेर मान्छेहरु आवतजावत गर्न नदिने खालको स्थिति जुन छ, यसलाई हटाएर यस क्षेत्रलाई एउटा पर्यटकीय आकर्षणको विशेष क्षेत्र बनाउनुपरेको छ । जब यो बेसक्याम जाने बाटोका रुपमा छ भने यसलाई पर्यटकीय गतिविधि निर्वाध रुपमा गर्न नदिनु पर्ने वा रेष्टिक्टेड एरिया बनाउनुपर्ने त्यस्तो धेरै आवश्यकता छजस्तो लाग्दैन । यस सम्बन्धमा पर्यटन मन्त्री यहीँ हुनुहुन्छ, उहाँले प्रस्ताव बनाएर अगाडि बढाउनुहुनेछ र मन्त्रिपरिषद्ले यस सम्बन्धमा आवश्यक निर्णय गरेर यहाँको आवागमन सहज बनाउने, यहाँ हेलिकोप्टर आदि आउने कुरालाई पनि सहज बनाउने र पर्यटकहरु आउने कुरालाई पनि सहज बनाउने काम गरिने छ । ती कामहरु हामी छिट्टै गर्छौं । अहिलेको समयमा धेरै कुराहरुलाई रेष्टिक्टेड गरिरहनुपर्ने वा नियन्त्रित गरिराख्नुपर्ने जरुरी छैन ।

पहिले हामीसँग विओपी थिएनन्, पहिले हामीसँग सुरक्षा निकायहरुको उपस्थिति थिएन । त्यस्तो बेलामा रेष्टिक्टेड गरिएको थियो होला । तर, अहिले जब हामीसँग सुरक्षा निकायहरु छ, विओपीहरु छन्, अरु सुरक्षा निकायहरु छन् भने अत्यावश्यक सुरक्षा र निगरानी हुन्छ, बोर्डर निगरानी हुन्छ र आवागमनको निगरानी पनि हुन्छ । को पस्छ, कस्तो खालको मान्छे प्रवेश गर्छ, को घुम्न आएको छ ? र, त्यसको जानकारी पनि हुन्छ । त्यसकारण अहिले रेष्टिक्टेड एरिया बनाइरहनु पर्ने आवश्यकता खासै पर्दैन ।

यहाँ साथीहरुले राख्नुभएका मागहरुको सन्दर्भमा तिपताला नाका खोल्न आवश्यक प्रक्रिया अघि बढाइदिन भन्नुभएको छ । यो कुरा मैले अघि नै भनेँ, यसमा हामीले ध्यान दिने नै छौं । उत्तर–दक्षिण लोकमार्गलाई कालोपत्रेमा परिणत गरिदिन आग्रह गर्नुभएको छ । त्यो पनि प्रक्रियामै छ । त्यो हुने नै छ । गाउँपालिकामा रहेका एनटिसी टुजी टावरलाई फोरजीमा परिणत गरिदिन भन्नुभएको छ, त्यस सम्बन्धमा पनि काम अगाडि बढिराखेको छ । कञ्चनजंगा बेसक्याम्पको दक्षिणी र उत्तरी मोहडाका क्षेत्रहरुमा अवस्थित पर्यटन पदमार्गमा स्तरोन्नति गरिदिन भन्नुभएको छ । यसलाई पनि ध्यान दिइनेछ । यस पर्यटन पदमार्गलाई कसरी स्तरोन्नति गर्ने ? पहिले मोटरेवल बाटो आयो भने यसको स्तरोन्नति गर्न पनि सजिलो हुन्छ । त्यसकारण मोटरेवल बाटो ल्याउने कुरामा नै हाम्रो पहिलो प्राथमिकता हुनेछ ।

त्यसले सबै कुरालाई सजिलो बनाउँदै जानेछ । साथीहरुले अर्को माग गर्नुभएको छ, यो स्पेसल परमिटको अनिवार्यताचाहिँ खारेज गर्नुप¥यो । यस सम्बन्धमा पनि मैले भनिसकें, अबको समयमा यस खालको व्यवस्था धेरै आवश्यक पर्दैन । र, यसलाई खारेज गर्न सकिन्छ । यो उहिलेको जमानाको कुरा हो । अहिले यस्तो अवस्था आवश्यक छैन । लघु जलविद्युत आयोजनाको क्षमता बृद्धि गरेर खम्बाचेन, ग्याब्ला र अम्जिलासाजस्ता गाउँहरुमा पनि विस्तार गरिदिन भन्नुभएको छ । यो एकदम स्वभाविक र आवश्यक कुरा हो । यसमा हाम्रो ध्यान जानेछ । तपाईंहरुले लेखेर दिनुभएका यी मागहरु लगेर सम्बन्धित मन्त्रालय र निकायहरुबाट फरवार्ड गर्ने र के गर्न सकिन्छ ? यो काम हामीले गर्नेछौं ।

हामी यस घुन्सा गाउँलाई पर्वतीय क्षेत्रको एउटा नमूना गाउँका रुपमा पर्यटकीय, पर्वतीय नमूना गाउँका रुपमा विस्तार गर्ने छौं । प्रदेश सरकारले यस बारेमा घोषणा गरिसकेको छ । मुख्यमन्त्रीजीले मलाई अघि भन्नुभएको र अस्ति नै याङजुङले पनि भनिसक्नु भएको थियो । यस गाउँलाई एउटा नमूना गाउँका रुपमा विकास गर्ने काम अघि बढसिकेको छ । नमूना गाउँका रुपमा विकास गर्न केके पूर्वाधारहरु चाहिन्छन् अथवा केके आवश्यक कामहरु गर्नुपर्छ, ती कुराहरु हामीले गर्नेछौं । यो नमुना गाउँ हुनको लागि अब यस गाउँमा पढ्न नपाएको कोही बालबालिका, पढ्न नपाएर कोेही निरक्षर भएको वा स्कुल जान नपाएर निरक्षर रहेको वा स्कुल जान नपाएर र पढ्न नपाइरहेको स्थितिमा कोही हुनुहुँदैन । कसैले सामान्य, प्रारम्भिक अथवा प्राथमिक स्वास्थ्य उपचार नपाउने खालको स्थिति हुनुहुँदैन वा मैले अघि नै भनेँ, आधारभूत सेवाहरु पुगेको हुनुपर्दछ ।

यस कुरामा प्रदेश सरकारको ध्यान जाने नै छ र केन्द्र सरकारबाट पनि हामीले उचित ध्यान दिने नै छौं । घुन्सामा स्थायी स्वास्थ्य चौकी स्थापनाको माग गर्नुभएको छ । यो एउटा स्वास्थ्य चौकी त बनिसकेको नै छ । यसलाई स्तरोन्नति गरेर सवलीकरण गर्दा हुन्छ । यस क्षेत्रको पहिलो बस्ती खम्बाचेनको नापी हुन २०४६ सालमा छुट भएका जग्गाको पुरानो प्रमाणका आधारमा नापजाँच गरी लालपूर्जा उपलब्ध गराउन पनि तपाईंहरुले माग राख्नुभएको छ । त्यसलाई यथाशीघ्र सम्पन्न गराइने छ, म तपाईंहरुलाई आश्वस्त पार्न चाहन्छु ।

अवश्य नै अहिले हाम्रो देश विकासको गतिमा अगाडि बढिरहेको छ । चारैतिर विकासको एउटा लहर नै आएको छ र उत्साह छाएको छ । हामी विभिन्न दुर्गम ठाउँहरुलाई सुगम बनाइरहेका छौं । टेलिफोनबाट जोडिरहेका छौं, बाटाहरुबाट जोडिरहेका छौं, हवाइजहाज सेवाबाट जोडिरहेका छौं । अरु अनेक हिसाबले जोडिरहेका छौं र विकासको तीब्र प्रक्रियाले मात्रै देशका सबै कुनाकन्दराहरुलाई जोड्न सक्छ । यी गाउँहरु केही वर्ष अगाडिसम्म साह्रै नै दुर्गम थिए । अब यी साह्रै दुर्गमबाट अलिक सुगमजस्ता भएका छन् । यहाँ आउनका लागि यस्तो सहज थिएन, अहिले पनि खासै सहज छैन, तर पहिलेभन्दा धेरैं नै सहज भएको छ ।

म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हामी उत्साहका साथ देश विकासको काममा लागौं । यहाँ राजनीतिक पार्टीहरुमा रुचि राख्ने र क्रियाशील साथीहरु पनि हुनुहुन्छ होला । अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका । सरकार ढलिहाल्छजस्ता कुराहरु तपाईंहरुले सुन्नु भएको हुनसक्छ । केही केही मान्छेहरु, केही काम नपाएका मान्छेहरु, देशमा अस्थिरता चाहने मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरुले यसो गरिरहेका छन् । हामीले देशको भूभाग समेटेर नक्सा छापेका छौं । सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित हाम्रो छुटेको जमिन हामीले नक्सामा सामेल गरेका छौं । संविधान संशोधन गरेर हाम्रो निशान छापमा राखेका छौं ।

अहिले केही मान्छेहरुलाई त्यो जमिन फिर्ता आउला कि भन्ने डर छ । अहिलेको यो हल्लाखल्ला अरु केही होइन । यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ । त्यो जमिन भरसक फिर्ता आउन नपाओस्, आउन पायो भने अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ, त्यस्तो चिन्ता केहीलाई छ । आफ्नो उचाइ घट्ने हो कि भन्ने चिन्ता त्यस्ता केहीलाई छ । त्यस्ता मान्छेहरुले नै अनेक प्रकारका दुष्प्रचार गरेर सरकारले केही काम गरेन भन्दै हल्ला चलाउने, केही पनि भएन भन्ने हल्ला चलाउने र सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउने र जनताको मनमा देशमै चिन्ता छाउने खालको वातावरण बनाउने काम गरिरहेका छन् । तिनले सुनियोजित रुपमा त्यस प्रकारका कामहरु गरिराखेका छन् । तर, म तपाईंहरुलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु ।

मैले चीनतिरबाट पनि नाकाहरु÷बाटाहरु खोल्ने नीति लिएँ र पहिलोपल्ट सरकारको नेतृत्व गर्दा हामीले चीनसँग यातायात र पारवहन सम्झौता ग¥यौं, पहिलोपल्ट म प्रधानमन्त्री हुँदा त्यसो ग¥यौं । नाकाबन्दीविरुद्ध हामी लडेर सामना ग¥यौं, नाकाबन्दी हामीले खोलायौं । चीनतिरबाट थुप्रै नाकाहरु खोलायौं । सन्धि–सम्झौताहरु ग¥यौं र हाम्रो देशको विकासका लागि हाम्रा दुबैतिरका छिमेकीहरुसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्ने र विकासको कामलाई दुबैतिरको साथ, सहयोग र सहकार्यमा अगाडि बढाउने नीति लियौं । मान्छेहरुले यो हुन्छ भन्ने विश्वास गरेका थिएनन् । तर, यो भएपछि केही मान्छेहरु आत्तिए । अहिले पनि तिनीहरु आत्तिएको मात्रै हो । त्यसकारण म तपाईंहरुलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु ।

नेपालमा लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, संघीय लोेकतान्त्रिक गणतन्त्रका सम्बन्धमा कसैले भ्रम फिजाउनु बेकार छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हाम्रो संविधानले व्यवस्था गरेको छ । हामीले यो लडेर ल्याएका छौं । यसको सुदृढीकरणका लागि, यसको सफल प्रयोगका लागि नै हामी काम गछौं । तसर्थः तपाईंहरु ढुक्क भएर विकासका कामहरुलाई साथ दिन लाग्नुहोस् । हामी देश विकासलाई अगाडि बढाउन सरकार दत्तचित्त छौं । मलाई काठमाडौं मात्रै बसेँ पनि पुग्थ्यो, यहाँ नआएपनि पुग्थ्यो । अस्ति भर्खर म किमाथाङ्का गएँ । बाटो कस्तो बन्दैछ, कसरी बन्दैछ, के हुँदैँछ ? चीनसँगको त्यो हाम्रो यस्तो अर्को नाका हो, जो धेरै उचाइमा जानुपर्दैन र थोरै उचाइमा सधै चल्नसक्छ । यस्तै २३÷२४ सय मिटरको उचाइमा रहेको छ । त्यति कम उचाइको सधैँ चल्ने बाटो किमाथाङ्का करिडर अरुण नदीको किनारैकिनार बनिरहेको छ । हामी तमोर नदीको किनारैकिनार अर्को बाटो पनि खोल्दै छौं । पश्चिमतिरबाट पनि थुप्रै नाकाहरु खोल्दै छौं । त्यसकारण उत्तरी भेगका गाउँहरु पनि अब दुर्गम होइनन् ।

चीनदेखि दक्षिणसम्म यी सबै बाटोले जोडिन्छन् र हामी केही वर्षभित्र यी बाटोहरुलाई पक्की बाटोका रुपमा विकास गछौं । यसरी अब देश विकासको बाटोमा अघि बढेको छ । तपाईंहरुले बुनेका गलैँचाहरु अब मान्छेले बोकेर होइन, गाडीले बोकेर बजारसम्म पु¥याउनेछ । केही समय मात्रै हामीले यसको प्रतीक्षा गर्नुपर्छ । यसरी कामहरु हुँदै गरेको, निर्माण कार्य हुँदै गरेको, बाटाका ट्रयाकहरु खोल्दै गरेको तपाईँ देख्नुभएको छ । बाटोको स्तरोन्नति गरेको पनि तपाईंहरुले देख्नुभएको छ । मैले धेरै भनिरहनु पर्लाजस्तो लाग्दैन । तपाईंहरु ढुक्क हुनुहोस्, देश अगाडि बढ्छ ।

मैले सरकारलाई गलत बाटोमा जान दिन्न । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा, स्थायित्व र स्थिरताको पक्षमा, शान्तिको पक्षमा नै यस देशलाई अगाडि बढाउने काम हुन्छ । त्यसहिसाबले कसरी बढाउनुपर्छ ? त्यसमा नै सरकार दत्तचित्त भएर लागेको छ । म दत्तचित्त भएर लागेको छु । हामी विभिन्न ठाउँमा गएर, विभिन्न ठाउँका अवस्थाहरु कस्ता छन्, त्यहाँको विकास कसरी गर्नुपर्छ भनेर हेरिरहेका छौं । म तपाईंहरुलाई ढुक्क भएर विकास निर्माणको काम र उन्नति प्रगतिको काममा अगाडि बढ्न आग्रह गर्दछु ।
म हाम्रा युवाहरुलाई भन्न चाहन्छु, तपाईंहरुले सही बाटो लिनुपर्दछ । विकासको बाटो लिनुपर्दछ । आ–आफ्नो ठाउँको विकास कसरी गर्ने ? कसरी अगाडि बढाउनु पर्दछ ? एउटा नमूना त हाम्रो याङजुङ शेर्पा नै हुनुहुन्छ, जसले यस दुर्गम ठाउँमा जन्मिएर यस ठाउँको विकासको लागि फाउन्डेसन निर्माण गरेर विभिन्न ढंगले काम अगाडि बढाइरहनु भएको छ । मलाई आज अलिक माइत आएजस्तोजस्तो पनि लागिरहेको छ । कोेसेली दिएर पठाउन खोजेकोजस्तो देख्छु । तर यो फेरिफेरि आइरहोस् भनेर हो कि के हो ? हामीहरुलाई यस्ता कोसेलीहरु धेरै नदिए राम्रो हुन्थ्यो, धेरै कोसेली नदिए नै राम्रो हुन्थ्यो, उता बस्न मन नलागेर फेरिफेरि आइरहुँजस्तो लागिरह्यो भने….। त्यसैले कोसेलीहरु अलि धेरै नदिए हुन्थ्यो । खैर, म सबै साथीहरुलाई धेरैधेरै शुभकामना भन्न चाहन्छु । तपाईंहरुकोे ल्होसारजस्ता चाडहरुको अवसरमा शुभकामना दिन चाहन्छु ।

सबै स्वस्थ रहनुहोस्, उन्नति र प्रगति गर्नुहोेस् । हाम्रा बालबालिकाहरुको पढाइ राम्रो होस् । गुरुबा, गुरुआमाहरुले राम्रो पढाउनुहोस् । राम्रो पढाउन ध्यान दिनुहोला । र, बालबालिका, साना नानीहरुलाई म आग्रह गर्न चाहन्छु, मेहनतसाथ पढेर देशका लागि भविष्यमा केही गर्नुपर्छ । यस्तै दुर्गम ठाउँमा जन्मिएका मान्छेहरु सङ्घर्ष गरेर अगाडि बढेका हुन्छन्, सङ्घर्ष र कठिनाइ बुझेका हुन्छन् र उनीहरुले देश विकास गर्ने कुरामा झन् ठूलो र झन् धेरै योगदान गर्न सक्छन् । कठिनाइको सामना गरेर अगाडि बढ्न सक्छन् । तपाईंहरु सबैलाई म आग्रह गर्न चाहन्छु, अगाडि बढ्ने अठोट गर्नुहोस् । अगाडि बढ्न र देश विकास गर्न सम्भव छ । दुर्गमलाई सुगम बनाउन सकिन्छ । दुर्गमको बेग्लै महत्व हुन्छ । सहज बनाएर यसको महत्व यति नजिक हिमाल देखिन्छ, सजिलै यति नजिकैबाट हेर्न सकिन्छ । यो असाधारण सुन्दर कुरा हो । यसलाई हामी आवागमन गर्न सहज बनायौं भने यो पर्यटनको लागि बहुतै राम्रो ठाउँ हुन्छ । यसनिम्ति तपाईंहरुका माग मैले हेरेको छु ।

म सबैलाई धन्यवाद भन्न चाहन्छु । दिन छोटा छन् । तपाईंहरुले डकुमेन्ट्री बनाउँदै हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, डकुमेन्ट्री राम्रो बनोस् । त्यसले घुन्सालाई चिनाओस् । घुन्सालाई नेपालभरि र विश्वभरी नै प्रचार गरोस् । हामीहरु यहाँको भ्रमणमा आयौं, घुन्साले प्रचार त पायो नै । अब नेपालभरिका जनताले घुन्साको बारेमा थाहा पाउँछन्, धेरै राम्ररी थाहा पाउँछन् । टेलिभिजनहरुले प्रशारण गर्छन्, यूटुुबले प्रशारण गर्छन्, अरुले पनि प्रसारण गर्छ । तपाईंहरुको यो सुन्दर मनोरम ठाउँ र यसको प्रचार सबैले गर्छन् । हो, यो ठाउँ अलिकति दुर्गम ठाउँ हो । यो ठाउँमा आउँदा विकासप्रेमी योजनविद् डा.हर्क गुरुङजी र नेपालको विकासमा साह्रै रुचि राख्ने फिनल्याण्डका त्यसबेलाका कार्यवाहक राजदूत मुत्सुनेनलगायतका साथीहरुको यहाँ भएको दुर्घटनामा ज्यान गुमेको थियो । त्यो अत्यन्तै दुःखको कुरा थियो । यो अलिक जोखिमपूर्ण भूगोल छ ।

भरसक राम्रो मौसम भएको बेला मात्रै आउने र यहाँ आउन हेलिकोप्टरबाट उड्ने गर्नुपर्छ । नत्रभने यो बाटो बनेपछि हेलिकोप्टरबाट धेरै आइरहनुपर्दैन । मान्छेहरु बाटोबाटै आउनजान सक्छन् र दुर्घटना पनि कम हुने स्थिति बन्छ । मौसमको खराबी कारणले दुर्घटना कम हुने अवस्था सिर्जना हुन्छ । यस घडीमा खासमा आज घुन्सा आएको बेलामा म डा. हर्क गुरुङ, तत्कालीन बन राज्यमन्त्री गोपाल राई र फिनल्याण्डका हाम्रा मित्र मुत्सुनेनसमेतका सबैलाई स्मरण गर्न चाहन्छु, उहाँहरुप्रति श्रद्धासुमन पनि अर्पण गर्न चाहन्छु । यस ठाउँको विकासलाई ध्यानमा राखेर नै उहाँहरु यहाँसम्म आउनु भएको थियो । अब मैले धेरै समय नलिऔं, हामीलाई छिटो फर्किनुपर्ने छ । त्यसकारण म फेरि सबैलाई शुभकामना भन्न चाहन्छु । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु र आफ्नो भनाइ यहीँ टुंग्याउँछु ।
धन्यवाद ।-प्रधानमन्त्री ओलीले घुन्सामा गरेको सम्बोधनको पूर्णपाठ 



प्रतिक्रिया दिनुहोस्