काठमाडौं, ९ मंसिर । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठकले सबै देशहरुमा उडान अनुमति दिदै जाने निर्णय गरेको छ । आज सिंहदरबारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकहरुमा पनि आवश्यकता अनुसार उडानको अनुमति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नियमित उडान स्वीकृति भउका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार विस्तारै नियमित उडान अनुमति दिदै जाने निर्णय भएको जानकारी दिए ।
सीसीएमसीले आज विभिन्न क्षेत्रबाट आएको सुझावहरुबारे छलफल गरेको हो । उपत्यका मेयर्स फोरमले कम्तिमा दुई साता लकडाउन गर्न दिएको सुझावबारे पनि छलफल भएको थियो । तर, लकडाउनबारे कुनै निर्णय भएन । बरु कोरोना संक्रमणको उच्च जोखिम रहेको स्थानलाई सिल गरी सुरक्षा उपाय अपनाउनेतर्फ कदम चाल्ने योजनाबारे छलफल भएको बुझिएको छ ।