काठमाडौं, ९ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला बिहिबार नेपाल भ्रमणमा आउँदैछन् । उनी शुक्रबार सम्म नेपाल बस्नेछन् । नेपालमा व्यक्तिगत नातासम्बन्ध भएका श्रृंगला नेपाली भाषा स्पष्ट बोल्छन् । भारतमा बोलिने धेरै भाषा बोल्न सक्ने श्रृंगला अंग्रेजी, फ्रेन्च, भियतनामी भाषा पनि बोल्छन् ।
हर्षवद्र्धनकी आमा हरिदेवी बस्नेत नेपाली मूलकी भारतीय हुन् । उनका बाबु छिरिङ तेन्दुफुला हुन् । दुवै दार्जिलिङका हुन् । हरिदेवीको माइती ललितपुरमा हो । यसकारण हर्षवद्र्धनको मामाघर नेपाल हो । उनीहरुको परिवारको दार्जिलिङको मालरोडमा आइभनहो हाउस होटल छ ।
बाबु छिरिङ भारतको वैदेशिक व्यापार विभागका सहायक प्रमुख नियन्त्रक सम्म भएका थिए । उनी जागिरको सिलसिलामा विभिन्न राज्यहरुमा खटिन्थे । जागिरको सिलसिलामा दक्षिण भारतमा खटिंदा हर्षवद्र्धन श्रृंगलाको जन्म भएको थियो ।
हर्षवद्र्धन भारतको पहिलो महिला विदेशसचिव चोकिला ऐयरका नाताका हुन् । नाताले चोकिलाको हर्षवद्र्धन भतिजा हुन् ।