मंसिर ९, काठमाण्डौ । नेपालमा विकृति र विसंगति हरेक क्षेत्रमा छ । ठगी र दलालको दबदबा पनि उस्तै छ । वैदेशिक रोजगार क्षेत्रमा त झन ठगी र दलाली मात्रै होइन दादागिरी पनि मौलाएको छ ।
स्वदेशमा रोजगारी नपाएर विदेश जानुको पिडा त छदैछ, मेनपावर, त्यसमा आवद्ध दलाल अनि तिनलाई संरक्षण गर्ने राजनीतिक नेतृत्वले वैदेशिक रोजगारको क्षेत्र बदनाम हुँदै आएको छ । मंगलबार वैदेशिक रोजगार विभागले काठमाण्डौको होप इन्टरनेशनल म्यानपावरमा छापा मार्दा त्यस्तो विकृतिको पर्दाफास भएको छ । कतारको प्रहरी सेवामा लैजाने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागले काठमाडौंको लाजिम्पाटस्थित होप इन्टरनेशनल म्यानपावरमा छापा मारेको थियो ।
छापा मार्नका लागि विभागका प्रतिनिधिहरु प्रहरीसहित पुगेका थिए । उक्त मेनपावर कम्पनीले पूर्व स्वीकृति नलिई कतारको प्रहरी सेवामा जाने कामदारको अन्तर्वार्ता लाजिम्पाटकै एक होटलमा गरिरहेको थियो । कानुन विपरित काम गरिरहेको मेनपावर कम्पनी संचालकलाई कारबाही गर्न खोजिए पनि त्यहाँ शक्ति र पहुँचको प्रदर्शन राम्रैसँग भयो ।
सुरुमा प्रहरी अधिकारीहरुले मेनपावर संचालकलाई कारबाही वा पक्राउ गर्न निकै अग्रसरता देखाएका थिए । तर जब मेनपावर संचालकले राजनीतिक शक्तिको प्रयोग गरे तब प्रहरी नै पछि हटे । पूर्व स्वीकृति नलिई नलिई अन्तरवार्ता लिनु त अवैध थियो नै, अन्तर्वार्ता लिनका लागि कतारको आन्तरिक मन्त्रालयको मानव संशाधन विभागका उच्च अधिकारीहरु समेत आएका थिए ।
र उनीहरुले नेपालस्थित कतार दुतावासको कुटनीतिक गाडीसमेत प्रयोग गरेका थिए । संचारकर्मीको बाक्लो उपस्थितीका कारण प्रहरी प्रशासनले उनीहरुलाई उन्मुक्ति दिन सकेन । अन्ततः एक जना दलाल हरि विक भन्नेलाई प्रहरीले हतकडी लगायो ।
विभागले उक्त म्यानपावरको विभिन्न कागाजत समेत नियन्त्रणमा लिएको छ । होप इन्टरनेशनलका मध्यस्थकर्ता योगबहादुर सुनुवारले समाचार सार्वजनिक गरेको खण्डमा कतारसँगको नेपालको सम्बन्ध विग्रने भन्दै उम्किने प्रयास गरेका थिए ।
विभागका अनुसन्धान अधिकृत कुशल बरालले यससम्बन्धमा थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
अवैध अन्तरवार्ता लिने होप इन्टरनेशनलका संचालक प्रभाकर्ण राणा हुन् । उनले अवैध अन्तरवर्तासम्बन्धमा केही पनि प्रतिक्रिया दिन चाहेनन् । यसअघि सोमबार पनि विभागले एसओएस म्यानपावर सर्भिस र डीडी इन्टरनेशनल म्यानपावरमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो । विभागले ३ वटै म्यानपावर सञ्चालकहरुलाई २४ घन्टाभित्र विभागमा बयान दिनका लागि उपिस्थित हुन निर्देशन दिएको छ ।