Logo

कतार पठाउन अवैध अन्तर्वार्ता



काठमाडौं, मंसिर १० । कतारमा नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति बिना नै केही वैदेशिक रोजगार कम्पनीले विदेश पठाउने भन्दै सयौँ सङ्ख्याका युवालाई धमाधम अन्तर्वार्ता लिएको अवस्थामा वैदेशिक रोजगार विभागको अनुगमन टोलीले फेला पारेको छ । होप इन्टरनेसनल, एसओएस म्यानपावर सर्भिस र डीडी ह्युमन रिसोर्स कम्पनीले त्यसरी अन्तर्वार्ता लिएको पाइएको हो ।

यससँगै वैदेशिक रोजगारीका नाममा डरलाग्दो बेथिति रहेको उजागर भएको छ ।विभागको टोलीले सोमबार धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालिमा र मङ्गलबार रानीबारीस्थित होप इन्टरनेसनल म्यानपावरमा अनुगमन गर्ने क्रममा कतारमा सुरक्षा गार्डका लागि मागको पूर्वस्वीकृति बिना अन्तर्वार्ता लिएको अवस्थामा फेला पारेको हो ।

ती कम्पनीले सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा विभागको टोली आकस्मिक अनुगमनमा पुगेको थियो । विभागको टोली ती कम्पनीमा पुग्दा अन्तर्वार्ताका लागि सयौँ सङ्ख्याका युवालाई गेटबाहिर लाइनमा लामबद्ध गरेको फेला परेको विभागले जनाएको छ । अनुगमनपछि विभागको टोलीले आवश्यक कागजातसहित वैदेशिक रोजगार कम्पनीका सञ्चालकलाई विभागमा उपस्थित हुन पत्र काटेको जनाएको छ ।

विदेशबाट नेपाली श्रमिकको माग आएको हो भने त विभागबाट पूर्वस्वीकृति नै नलिइकन कसरी विदेश पठाउन सम्भव छ भन्ने प्रश्न गर्दै विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कानुनअनुसार कारबाही गर्ने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot