Logo

हत्याको विरोधमा बर्दिबासमा निषेधाज्ञा तोड्दै प्रदर्शन



महोत्तरी, १० मंसिर । बालिका हत्याको विरोधमा आज पनि बर्दिबासमा प्रदर्शन भइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारीहरुले तोड्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा मङ्गलबार बुद्धिराज न्यौपानेको मृत्यु भएपछि स्थिति झन् बिग्रिएको हो । न्यौपानेलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याएपनि बचाउन सकिएको थिएन । उनको मृत्युपछि बर्दिबासमा आक्रोश बढेको छ ।

बर्दिबासमा हिंसात्मक घटना हुन नदिन भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए । तर, स्थानीयवासीले निषेधाज्ञा तोड्न थालेपछि थप सुरक्षाकर्मी बढाइएको छ ।

६ वर्षीया गुलबसा खातुनको हत्यापछि बर्दिबासमा विरोध प्रदर्शन भएको हो । घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ ।



प्रतिक्रिया दिनुहोस्