Logo

१७ विषयमा नतिजा शून्य



काठमाडौं, मंसिर ११ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष सञ्चालन गरेको उपप्रध्यापक पदको लिखित परीक्षाको नतिजा कात्तिक २६ गते प्रकाशित गरेको थियो। परीक्षाको नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयमा खेलाबैला मच्चिएको छ। विश्वविद्यालयको इतिहासमै यसपटक मुख्य १७ विषय इन्जिनियरिङ, गणित, विज्ञान, शिक्षाका मुख्य विषयलगायतमा परीक्षा दिएकाहरु पास हुन सकेनन्।

यी विषयमा उत्तीर्ण हुने संख्या शून्य भएको छ। व्यवस्थापन संकायमा पनि दरबन्दीअनुसार विद्यार्थी पास हुन सकेनन्। यसले गर्दा पदपूर्ति नै हुन सकेन भने कतिपय विषयमा धेरै विद्यार्थी फेल भएका छन्। यसका साथै आफ्नो पहिचान खुल्नेगरी उत्तरपुस्तिकामा परीक्षासँग असम्बन्धित विषयवस्तु लेख्नेको परीक्षा नै रद्द गरिएको छ।

कुल १ सय ६१ विषयको परीक्षाका लागि ५ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाएकोमा ५ सय १३ उम्मेदवार मात्र सफल भएका छन्। २२ विषयमा दरबन्दीभन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन्।

गणित विषयमा उपप्राध्यापक पदका लागि खुला ३, महिला १ र आदिवासी जनजाति गरी कुल ५ दरबन्दी माग गरेको थियो। परीक्षार्थीको सहभागिता संख्या १ सय १२ रहेको थियो। तर यो विषयमा नतिजा शून्य भयो। कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसकेको आयोगले प्रकाशित गरेको नतिजामा छ। यसैगरी आइटीको धेरै माग भएको कम्प्युटर विज्ञान विषयमा पनि नतिजा शून्य रह्यो। यो विषयमा १६ दरबन्दीमा १२ जना सहभागी रहेका थिए।

वाटर रिसोर्स इन्जिनियरिङ्ग, इन्भोरमेन्टल इन्जिनियरिङ्ग, बायो केमेस्ट्रीमा ३ दरबन्दी माग गरेकोमा १२ जनाले लिखित परीक्षा दिएकोमा नतिजा शून्य रह्यो। यसैगरी फुड साइन्स, जनप्रशासन,समाजिक अध्ययन, शैक्षिक योजना तथा ब्यवस्थापन, भूगोल शिक्षा, अर्थ शास्त्र शिक्षा, संस्कृति, मनोविज्ञान, वाइल्ड लाइभ कन्जरभेसन, लाइभस्टक प्रोडक्सन टेक्नोलोजी, मेडिकल बायो केमेस्ट्री, पशुपालन षियमा नतिजा निल रहयो। भने व्यवस्थापन संकायमा ४६ दरबन्दीकोलागि कुल चार सय ९६ उम्मेदवार लिखित परीक्षामा सहभागिता जनाएकोमा ८ जना मात्र पास भए। सोही कारण ३८ वटा पदपूर्ति हुन नसकेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot