काठमाडौं, ११ मंसिर । करीब एक वर्षको अन्तरालपछि राजधानी काठमाडौंमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रतिनिधि मण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय -उत्तर० विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन् । त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला आजै काठमाडौँ आएका हुन् । उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए । आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा सचिव श्रृङ्गलाले नेपाली भाषामा भने,“विदेश सचिवका रुपमा काठमाडौँ आउँदा मलाई अत्यन्त खुशी लागेको छ, पहिले पनि म काठमाडौँ आएको छु तर विदेश सचिवका रुपमा मेरो यो पहिलो भ्रमण हो । भारत र नेपाल निकटतम मित्र हुन्, हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ । ”
उहाँले आज९बिहीबार० र भोलि९शुक्रबार० आफू उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने जानकारी दिँदै शुक्रबार गोरखा पुुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताए । गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताए । यद्यपि उहाँले उक्त गुम्बा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उद्घाटन हुनेबारेमा भने केही खुलाएनन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम