काठमाडौं, मंसिर १२ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा रोक्न माग गर्दै दायर भएको रीटमा सर्वोच्च अदालतले साधारणसभा रोक्न अस्वीकार गरेको छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधानविपरीत रहेको भन्दै रोक्न माग गर्दै रीट दायर गरेका थिए । साहले महासंघको साधारणसभा र निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, त्यसमाथि सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च गएका थिए ।
अदालतले साधारणसभाकै दिन (बिहीवार) उक्त रीटको पेशी तोकेको थियो । रीटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले साधारणसभा रोक्न अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको छ ।