Logo

भारतको नेपालमा यी तहबाट सक्रियता



काठमाडौं, १२ मंसिर । भारतले एकसाथ चार तहबाट नेपालमा सक्रियता बढाएको छ । उसले राजनीतिक तहका अलावा सैन्य, गुप्तचरसहित कर्मचारीको तहबाट सक्रियता बढाएको छ ।

सीमा विवादपछि लामो समय संवादहीनताको अवस्था तोड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन महिना अघि टेलिफोन वार्ता गरे । उक्त वार्तापछि अनौपचारिक तवरले दुई देशबीच कुराकानी अगाडि बढ्यो । नेपालसँग संवाद नगर्दा चीनलगायत अन्य शक्तिको सक्रियता बढेको बुझाईपछि दिल्ली आफै अग्रसर भयो ।

भारतले रअका प्रमुख सामन्त गोयललाई काठमाडौं पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण कुराकानीलाई अगाडि बढायो । लगत्तै सेनाप्रमुख मनोज मुकुन्द नरवाणे आए । गुप्तचर र सैन्य तहबाट चालिएको कदमलाई निकै अर्थपूर्ण मानिएको छ । यसलाई उपयुक्त र प्रभावकारी कदमका रुपमा भारतभित्र पनि विश्लेषण भइरहेको छ ।

गुप्तचर प्रमुख र सेना प्रमुखको लगातारको भ्रमणलाई भारतले नेपाल मामलामा सैन्य कुटनीतिलाई बढावा दिएको अर्थमा बुझ्न सकिन्छ । हुनपनि सैन्य तहमा कुराकानीपछि नेपालमा भारतले बिग्रिएको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन केही सफलता हासिल गरेको विश्लेषण दिल्लीमा हुनथालेको छ । राजनीतिक तहमा भन्दा सैन्य तहमा छलफल भारतले बढाएको छ । विगतमा नाकाबन्दीपछि बिग्रिएको सम्बन्ध पनि सैन्य तहबाट पहल भएपछि सामान्य अवस्थामा फर्किएको थियो ।

राजनीतिक तहमा कुराकानी हुँदै गुप्तचर र सैन्य तहमा भेटघाट भएपछि भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल भ्रमणमा आए । उनले दुई देशबीच थाती रहेका समस्या समाधानको विषय र भविष्यमा गर्नुपर्ने सहमतिका विषयमा बुँदागत तरिकाले छलफल गरेका छन् । सीमा समस्याको विषयमा गम्भीर छलफल भएको छ । नेपालले आफ्नो धारणा प्रष्ट राखेपछि श्रृंगलाले राजनीतिक तहसम्म यसबारे जानकारी गराउनसक्ने बुझिएको छ । तर, त्योभन्दा पनि भारतले एकैपटक आफ्ना सबै तहबाट नेपालसँग कुटनीतिक सक्रियता बढाएर सम्बन्धलाई अझ बलियो बनाउने तत्परता देखाएको छ । नेपालमा कुनै अर्को शक्तिको प्रभाव नबढोस् भन्नेमा भारत सतर्क र सजग रहेको सन्देश प्रवाह भएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot