Logo

ओली-प्रचण्ड टकराव: एक-अर्काविरुद्ध खतरनाक तयारी



काठमाडौ, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको शनिबारका लागि तय भएको सचिवालय बैठक सामान्य नहुने निश्चितप्रायः छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काविरुद्ध गम्भीर आरोपसहितको दस्तावेज छलफलमा प्रस्तुत हुनेभएपछि बैठक सामान्य नहुने देखिएको छ ।

प्रचण्डले ओलीमाथि संघीयताविरोधी, भ्रष्टाचारको संरक्षण गरेकोलगायत गम्भीर आरोपसहितको दस्तावेज सचिवालयमा प्रस्तुत गरेका थिए । जवाफमा ओलीले प्रचण्डमाथि युद्धअपराध गरेको, शान्ति प्रक्रियामा बेइमानी गरेकोलगायतको आरोपलगाएर दस्तावेज तयार गरेका छन् । प्रचण्डलाई युद्धअपराधको अभियोगमा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अदालत द हेग सम्म पुर्याउने घुमाउरो चेतावनी समेत ओलीले दिएका छन् ।

पुराना विषय कोट्याएर ओलीले प्रचण्डमाथि विगतमा जसरी कडा रुपमा प्रस्तुत हुनेगरेका थिए त्यही शैली देखाएका छन् । ओलीले विगतमा प्रचण्डलाई हिंसाको पक्षधरका रुपमा आरोप लगाउँथे । यस्तो टकरावका बीच पनि ओली र प्रचण्डले पार्टी एकता गरी नेकपा गठन गर्दा धेरैले आश्चर्य मानेका थिए ।

ओली र प्रचण्डबीच फाटो यति धेरै भइसकेको छ कि दुवैबीच बोलचाल बन्द भएको छ । विश्वापात्रहरुमार्फत् ओलीले प्रचण्डसँग सम्पर्क गरिरहेका छन् । तर, प्रचण्डलाई डर देखाउने गरी दस्तावेज तयार हुनुले गम्भीर मोडमा नेकपा विवादलाई पुर्याइदिएको छ ।

पुराना घटना उल्लेख गर्दै ओलीले प्रचण्डविरुद्ध चेतावनीसहितको आरोप लगाउनुले विवाद झन् चुलीमा पुग्ने देखिएको छ । अब आरोपको छिनोफानो कसरी हुन्छ ?
ओलीले प्रचण्डलाई आ आफ्नो बाटो लागौं भनिसकेका छन् । प्रचण्डले पनि ओलीलाई गम्भीर आरोप लगाएर सत्ताबाट हटाउन खोजेका छन् । यस्तो अवस्थामा भोलि बस्ने सचिवालय बैठकले वारपारको अवस्था बनाउन सक्छ । नेकपा यसै पनि फुटको नजिक पुगेको छ । जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । यसलाई जोगाउन नसके नेकपाका शिर्ष नेताहरुबीच एक अर्काको राजनीतिक जीवन नै समाप्त पार्ने सम्मको खेल हुने संकेतहरु देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्