काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै मन्दिरमा गएको विषयलाई लिएर सलबलाएको भनेर भन्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ भदौ २०७७ मा प्राइम टेलिभिजनका लागि पत्रकार ऋषि धमलालाई ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दिएको अन्तर्वार्तामा यस्तो बताएका थिए । संघीयता आज देशले थेग्न नसक्ने भयो भन्दै आक्रमण त धेरै पक्षबाट भइराखेको छ नि त ? पूर्वराजा ज्ञानेन्द्र लागिराख्नु भएको छ गणतन्त्रका विरुद्ध, उहाँले कदम चालिराख्नु भएको छ नि ? भन्ने पत्रकार धमलालको प्रश्नमा प्रधानमन्त्री ओलीको यस्तो जवाफ थियो–‘यो बेकारको कुरा हो क्या ! कहाँ सलबलाए ज्ञानेन्द्र शाह ? कुनै मन्दिरमा गएको सलबलाएको हो र ? अब उनका पछाडि लागेर केही खान पाएका केही मान्छेहरुचाहिँ जो केही बोल्नु, भन्नु भनेको वा त्यस्तो भइदिएहुन्थ्यो, अनि खाउँला भन्नेहरु केही होलान् । राणा शासन आइदिए हुन्थ्यो भन्नेहरु पनि अहिलेसम्म होलान केही मान्छेहरु । पञ्चायत फर्किदिए हुन्थ्यो भन्ने अहिलेसम्म केही होलान् मान्छेहरु । त्यसका त हुन्छन् नि अवशेषहरु । त्यस्ता अवशेषहरु हुन्छन् । तर, मलाई ज्ञानेन्द्र शाहलाई खूदै जनताले टिपेर मिल्काएको राजतन्त्र फेरि फर्काउँछन् भन्ने त्यस्तो आशा होला भन्ने लाग्दैन । अरु कसैले ल्याएर सत्तासीन गराइदिन्छ भन्ने लागेको छ भनें यो मध्ययुग पनि होइन । अहिले जनता सार्वभौमसत्ता सम्पन्न छन् । अन्त कतैबाट ल्याएर सत्तासीन गराइदिन्छन् भन्ने अपेक्षा भ्रम पनि छ होला जस्तो मलाई लाग्दैन । अब त्यस्तो भ्रम छ भनेर त्यस्ता गतिविधिहरु देखियो भने त्यसलाई त ‘.!’
प्रधानमन्त्री ओलीले आफूहरु नेपालको संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै भनेका थिए,‘नेपालको संविधान कार्यान्वयनको हामी प्रारम्भिक चरणमा छौं । यो अगाडि बढ्दै जान्छ । र, मैले भनेको छु, आवश्यकता र औचित्यका आधारमा संविधानको संशोधन हुने गर्छ, जस्तोकि अस्ति भयो । सर्वसम्मतिले भयो । हामी यसैगरी आवश्यकता प¥यो भने संविधान संशोधन गर्न पनि सक्छौं । यसरी आवश्यक पर्दा सर्वसम्मतिका साथ जान सक्दारहेछौं नि ! संविधान संशोधन गर्नै मान्दैन, एक अक्षर, कमा र फुलस्टप पनि फेर्नुहुँदैन भन्योआदि हल्ला गर्दथे । मैले नै प्रस्ताव लगेर सर्वसम्मतिले संविधान संशोधन प्रस्ताव पारित भयो त ! तसर्थः पहिले पनि संविधान संशोधन भएको थियो, अहिले पनि संविधान संशोधन सर्वसम्मतिले भयो । मुख्य कुरा त देश हो । मुख्य कुरा त जनता हो । यी कुनै कुराप्रति अनावश्यक बफादारिता, प्रतिवद्धता र धर्म भाकिरहनुपर्ने आवश्यकता छैन । हजारपल्ट कायलनामा गर्नुपर्नेजस्तो गर्नुपर्ने कुनै आवश्यकता छैन । यो प्रणाली देश र जनताको लागि हामीले ल्याएको प्रणाली हो । यस प्रणालीलाई हामी सुदृढ गर्दै अझै अघि बढेर देशका लागि, जनताका लागि, विकासका लागि उपयोगी हुने र बनाउने कोशिसमा छौं । हो, यस ढंगले यसको सदुपयोग र अभ्यास गर्दै हामी अगाडि बढ्छौं ।’
उनले गणतन्त्रमा संकट कहाँ आयो ? भन्दै प्रश्न समेत गरेका थिए । उनले भनेका थिए,‘छैन ।’ होइन, नेताहरुले देशप्रति, जनताप्रति उत्तरदायित्व निर्वाह गर्दैनन् । नेताहरुले राम्रो काम गरेनन् ? भन्ने धमलाको अर्को प्रश्नमा प्रधानमन्त्री ओलीको भनाई थियो–‘अब सबै उत्तिकै छन् कि छैनन् – के मापदण्डका आधारमा भन्ने ? जनताप्रति उत्तरदायी छन्, जनताप्रति उत्तरदायी भएर नै काम गरिराखेका छन् र त यी थुप्रै सकारात्मक परिणामहरु प्राप्त भएका पनि छन् । नत्र कसरी प्राप्त हुन्थ्यो यो उपलब्धि ?’