Logo

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ ५ प्रतिफल पाउने



काठमाडौं,मंसिर १२ । सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले ७ दशमलव ५ प्रतिशत प्रतिफल पाउने भएका छन् । योगदानकर्ताको वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममध्येबाट गत वर्ष उक्त प्रतिफल दिन सकिने प्रारम्भिक प्रतिवेदनले देखाएको कोषले बताएको छ ।

गत आवको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहेको भए पनि प्रारम्भिक प्रतिवेदनले योगदानकर्तालाई प्रतिफल दिन सकिने देखिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए।

योगदानकर्ताले कुल योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकमबाट प्रतिफल पाउनेछन् । “वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको २८ दशमलव ३३ प्रतिशत रकममा योगदानकर्तालाई प्रतिफल दिने हो”, उनले भने, “कोषमा नियमित योगदान गरिरहेका वा योगदान गरेका योगदानकर्ताले प्रतिफल पाउनेछन् ।”

कोषमा सूचीकृत भएका रोजगारदाताले २० र श्रमिकका तर्फबाट ११ गरी ३१ प्रतिशत मासिकरुपमा जम्मा गर्नुपर्छ । ३१ प्रतिशतमध्येबाट २८ दशमलव ३३ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्न छुट्याइएको हुन्छ ।

एक प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १ दशमलव ४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना र शून्य दशमलव २७ प्रतिशत रकम आश्रित परिवार सुरक्षा योजनाका लागि छुट्याइँदै आइएको छ ।

सुरक्षित लगानीमार्फत दिगो प्रतिफल दिने नीतिअनुरुप रहेर निर्माण गरेको लगानी कार्यविधि गत बुधवारको मन्त्रिपरिषद्बाट स्वीकृत भएको कोषले बताएको छ । कार्यविधिअनुरुप तोकिएका क्षेत्रमा सीमाभित्र रहेर लगानी गर्दा कोषले दायित्व बहन गर्न आर्जन गर्नुपर्ने न्यूनतम प्रतिफल प्राप्त हुने तथा योगदानकर्तालाई समेत आकर्षक प्रतिफल दिन सकिने कार्यकारी निर्देशक ज्ञवालीले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्