Logo

उद्योग वाणिज्य महासंघको मतदान शुरु, भावी नेतृत्वका लागि ढकाल र प्रधानबीच प्रतिष्पर्धा



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनको अन्तिम दिन आज मतदान शुरु भएको छ । मतदान अहिले विहानबाट शुरु भएको हो ।

मतदान टेकुस्थित महासंघको केन्द्रीय कार्यालय, कार्की बैंकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको हो । टेकुमा वस्तुगत संघ समूह, बबरमहलमा एशोसिएट समूह र कमलादीमा उद्दोग वाणिज्य समूहले मतदान गर्ने गरी मिलाइएको महासंघले जनाएकोे छ ।

भावी नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल एशोशिएटतर्फको उपाध्यक्ष हुन् । उनी आइएम समूहका अध्यक्ष हुन् । यो समूहले बैंक तथा पर्यटन क्षेत्रमा लगानी गरेको छ ।

उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधान विराटनगरमा उद्दोग व्यवसाय चलाउँछन् । उनी यसअघि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । उनी हालका मनोनित उपाध्यक्ष पनि हुन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ चुनावी मैदानमा छन् । श्रेष्ठ नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र साहना प्रधानका छोरा हुन् । उनी औषधी व्यवसायी हुन् ।

महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघई प्रतिष्पर्धामा छन् । ज्योती प्रधानको प्यानमा छन् भने संघई ढकालको प्यानमा छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधान दुवैले आफ्नो जीतको दाबी गरेका छन् । दुवैले सहमति गर्न नमानेपछि चुनाव हुने भएको हो ।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा २९ चैतपछि स्वतः अध्यक्ष हुनेछन् । त्यसपछि अर्को कार्यकाल अब चयन हुने वरिष्ठ उपाध्यक्षमध्येबाट हुनेछन् । हालका उम्मेदवारहरु चन्द्र ढकाल र किशोर प्रधान मध्ये जस्ले जित्छ उही भावी अध्यक्ष बन्छ । उनीहरु गोल्छापछिको कार्यकालमा अध्यक्ष बन्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्