एजेन्सी, १३ मङ्सिर। कोरोना महामारीबाट पूरै विश्व नै अस्तव्यस्त बनेको छ । महामारीका कारण हजारौँ मानिसहरुले रोजगारी गुमाएका छन् । लाखौँ मानिसहरु भोकमरीको स्थितिमा पुगेका छन् । यस्तोमा अमेरिकी अरबपतिहरुको सम्पत्तिमा भने उच्च बढोत्तरी देखिएको छ ।
एक रिपोर्टका अनुसार, मार्चमा पूरै विश्वमा कोरोना फैलिएको समयपछि पनि अमेरिकी अरबपतिहरुको सम्पत्तिमा एक ट्रिलियन अर्थात् १० खर्ब डलरभन्दा अधिक वृद्धि भएको छ ।
रिपोर्टका अनुसार, अमेरिकी अरबपतिहरुको कुल सम्पत्तिमा एक तिहाई भन्दा अधिक वृद्धि भएको छ । विश्लेषणमा पाइएअनुसार, ५६० अरबपतिहरुले १८ मार्च २०२० र २४ नोभेम्बर २०२० का बीच १० खर्ब ८ अर्ब डलर बराबरको सम्पत्ति प्राप्त गरेका छन् । अब यि अरबपतिहरुको संयुक्त सम्पत्ति ४ ट्रिलियन अर्थात् ४० खर्ब डलर पुगेको छ ।
२९ अरबपतिको सम्पत्ति दोब्बर
ती अरबपतिहरुमध्ये २९ अरबपतिहरुले मार्चमा आफ्नो सम्पत्ति दोब्बर बनाए । यस क्रममा ३६ नयाँ अरबपति बने । कयौँ अमेरिकी कोरोना भाइरसबाट बच्न लगाइएको लकडाउनबाट सिर्जित आर्थिक समस्यापछि संघर्ष गरिरहेका बेला यि अरबपतिहरुको सम्पत्तिमा भने यस्तो बढोत्तरी भएको हो ।
एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि
इंस्टीट्यूट फर पोलिसी स्टडीज (आईपीएस) को रिपोर्टका अनुसार, स्पेस एक्स र टेस्लाका प्रमुख एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै बढोत्तरी भएको छ । महामारीपछि उनको सम्पत्ति एक खर्ब डलरले वृद्धि भएको छ ।
यसैगरी विश्वका सबैभन्दा धनी तथा अमेजनका सीईओ जेफ बेजोसको सम्पत्ति मार्चको मध्यदेखि ७० अर्ब भन्दा धेरै वृद्धि भएको छ । जबकि कोभिड–१९ बाट कम्पनीका करिब २० हजार कर्मचारीहरु संक्रमित भएको अनुमान गरिएको छ ।
यस अवधिमा फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति ४७ अर्ब ८० करोड अर्थात् ४७ प्रतिशतले बढेको छ ।-मेरोलगानी/Photo: Agency