Logo

इरानका आणविक वैज्ञानिकको हत्या कस्ले गर्यो ?



एजेन्सी, १३ मंसिर । इरानका आणविक हतियार सम्बन्धी वैज्ञानिकको हत्याबारे सँसारको ध्यानाकर्षण भएको छ । मोहसिन फक्रिजादेहको तेहरान नजिकैको अबसर्ड शहरको सडकमा हत्या भएको हो । हिजो उनलाई बन्दुकधारीले आक्रमण गरेपछि बडिगार्डले बचाउन खोजेपनि सकेनन् । अस्पतालमा उनी मृत घोषित भए ।

मोहसिनको हत्याको बदला लिने भन्दै इरानी अधिकारीहरुबाट कडा चेतावनी आइसकेको छ । इरानी राष्ट्रपति हसन रुहानीले इजरायललाई हत्याको आरोप लगाए । उनले मोहसिनको हत्याले आणविक कार्यक्रम सुस्त नहुने बताए । उनको अभिव्यक्तिको इजरायलले कुनै प्रतिक्रिया दिएको छैन । इरानका विदेशमन्त्री जाभद जरिफले हत्यामा इजरायको संलग्नताको प्रमाण रहेको दाबी गरेका छन् ।

६३ वर्षीय वैज्ञानिकलाई पश्चिमा देशहरुले इरानको आणविक कार्यक्रमको मुख्य व्यक्तिका रुपमा चिन्दथे । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनको नामै किटेर इरानको आणविक महत्वाकांक्षाका बारेमा सन् २०१८ मा बोलेका थिए । मोहसिनको हत्यालगत्तै मध्यपूर्वमा तनाव बढेको छ । इरानले यसको बदला लिने बताएबाट हिंसा बढ्नसक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्