Logo

निर्माण सामग्री उत्पादनका सकस



वीरगञ्ज, मंसिर १४ । कोरोना महामारी र नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण खस्किएको निर्माण सामग्रीको बजार अझै उँभो लाग्न सकेको छैन । बन्दाबन्दी हटे पनि विकास निर्माणका कामले अझै स्वाभाविक गति नलिएकाले सिमेन्ट, डन्डीलगायत उत्पादनको मागमा सुधार नआएको उत्पादकहरूले बताएका छन् ।

निर्माण सामग्री उत्पादनमा पछिल्लो समय ठूलो लगानी आएपछि आन्तरिक बजारमा प्रतिस्पर्धा तीव्र बढेको छ । उत्पादनको तुलनामा बजार नबढेपछि उत्पादकबीच मूल्यमा मात्र नभएर कसले बढी समयका लागि उधारो दिने भन्ने प्रतिस्पर्धा चलेको थियो ।

मागको तुलनामा अधिक उत्पादनले बजार समस्याग्रस्त बनिरहेका बेला कोरोना महामारीले झन् समस्या थपिएको उत्पादकहरू बताउँछन् । अहिले उद्योगहरू पूर्ण क्षमतामा चल्ने हो भने मागको तुलनामा सिमेन्ट ३ गुणा र डन्डी दोब्बर उत्पादन हुने लगानीकर्ता बताउँछन् ।

बन्दाबन्दी खुलेयता अन्य उत्पादनको बजारले गति समाते पनि निर्माण सामग्रीको माग नबढेको उनीहरूको भनाइ छ । उत्पादकहरूले दैनिक खर्च चलाउन पनि लागतभन्दा कम मूल्यमा उत्पादन बेच्न थालेका छन् । यो अवस्थामा चाँडै सुधार नआए निर्माण सामग्री उत्पादनमा भएको लगानी संकटमा पर्ने उद्योगी प्रदीपकुमार केडिया बताउँछन् । सरकारी लगानीका ठूला विकास आयोजनालाई गति दिएर बजार बढाउनुपर्ने माग केडियाको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्