काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चा अझै एकढिक्का छ । मोर्चालाई कमजोर पार्ने या टुटाउने प्रयास भएपनि अध्यक्ष ओली पक्षधर सफल हुन सकेको छैन ।
विगतमा दुईपटक यस्तै मोर्चा बनेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास भएको थियो । तर, ओलीले कहिले प्रचण्ड त कहिले बामदेव गौतमसँग सम्झौता गरेर विफल पारेका थिए ।
प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाश रहेको नेकपाको बहुमत सचिवालय सदस्यसहितको मोर्चा कसिलो नै रहेपछि ओलीले नयाँ अस्त्रहरु फ्याँकिरहेका छन् । मोर्चालाई आफूविरुद्धको घेराबन्दी ठानेका ओलीले यसलाई तोड्ने प्रयास जारी राखेका छन् ।
ओलीले माधवकुमार नेपाललाई बालुवाटारमा डाकेर तीनपटक भेट गरिसकेका छन् । उनले भावी अध्यक्षका लागि सहयोग गर्ने प्रस्ताव राखेपनि नेपाल तयार भएनन् । यसपछि उनले विश्वासपात्र पठाएर बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने प्रस्ताव गरे । गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव पनि पठाए । तर, गौतम सकारात्मक भएनन् ।
सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पटक पटक गौतमलाई भेटे । पौडेल अर्थमन्त्री पद त्यागेर बामदेवका लागि त्याग गर्न तयार समेत देखिए । पोखरेलले पनि वरिष्ठ उपप्रधानमन्त्रीको प्रस्ताव लिएर शुक्रबार गौतमलाई भैंसेपाटीस्थित निवासमा भेटे । तर, गौतम सकारात्मक भएनन् । उनले मोर्चा अझ बलियो बन्दै जाने बताइदिए ।
ओलीविरोधी मोर्चाका नेताहरु कहिले कोटेश्वर त कहिले खुमलटार भेला भएर आफूहरुलाई आइरहेको प्रस्तावबारे बताउन थालेका छन् । यसरी आएका प्रस्तावहरु एक अर्कालाई भन्न थालेपछि ओली पक्षधरलाई कुरा गर्न समेत समस्या हुनथालेको छ । अहिलेको अवस्थासम्म ओलीविरोधी मोर्चा एकढिक्का नै छ ।
आफूविरुद्धको घेराबन्दी तोड्न ओलीले पूर्व एमालेबीचको एकतामा समेत जोड दिन थालेका छन् । उनले पार्टी बैठकमा शनिबार प्रस्तुत गरेको दस्तावेजमा पनि यही आशय छ । उनले एमाले शब्द ठाउँ ठाउँमा उल्लेख गरेका छन् ।