Logo

लयमा फर्कंदै ठमेल र दरबार मार्ग



काठमाडौं, मंसिर १६। कोरोना सङ्क्रमण महामारीका कारण विगत आठ महिनादेखि बन्द राजधानीको ठमेल र दरबार मार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थालेका छन् ।

रात्रिकालीन मनोरञ्जन डान्स र दोहोरी बाहेक अन्य मनोरञ्जन क्षेत्र खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । खुला भएका व्यवसायका लागि पनि राति ९ः३० बजेसम्मको समयावधि तोकिएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला जीवनप्रसाद दुलालले रात्रिकालीन मनोरञ्जन दोहोरी, डिस्को, व्यायामशालाबाहेक अन्य व्यवसाय खुला गरिएको जानकारी दिए । यसक्षेत्रका पसल तथा सुपरमार्केट पूर्ण रूपमा खुलेका छन् ।

रात्रिकालीन मनोरञ्जनलगायत बाक्लो भीड लाग्ने अन्य व्यवसाय खोल्नका लागि मन्त्रिपरिषद्को निर्णय आउनुपर्छ, उनले थपे, “अन्य व्यवसाय स्वास्थ्य सुरक्षा सतर्कता अपनाई खोल्न कुनै समस्या छैन । ” विशेष गरी युवालाई लक्षित मनोरञ्जन व्यवसायहरू डिस्को, पपबार, क्लब, लाइभ म्युजिक रेस्टुराँ समूहगत डान्स तथा भीडभाड नहुने गरी आवश्यक दूरी कायम राखी सञ्चालनमा कुनै बाधा नपुग्ने भनाइ स्थानीय प्रशासनको छ ।

कोरोना महामारी सङ्क्रमण नियन्त्रणका लागि व्यवसायीले स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले मापदण्ड बनाएर नै व्यवसाय सञ्चालन गरिएको बताए।

रेस्टुराँहरू बाहिर तथा भित्र हात धुनलाई साबुन पानी, प्रवेशद्वारमै सेनिटाइजर, एक मिटरको दूरी कायम राखी आसन स्थान, परिकार खाने बेलाबाहेक अन्य बेला माक्स अनिवार्य गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot