Logo

प्रधानमन्त्री ओली पाटी सचिवालय बैठकमा नजाने, संसदीय दलमा प्रभाव बनाउन केन्द्रित



काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली जारी सचिवालय बैठकमा नजाने भएका छन् । उनले मङ्गलबार बसेको सचिवालय बैठकमा नै उपस्थित नहुने बताइसेका छन् ।

पार्टी बैठकमा सहभागी हुनका लागि ओलीले सर्त राखेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत आरोप लगाएकाले माफी माग्नुपर्ने र प्रस्ताव पनि फिर्ता लिनुपर्ने ओलीको अडान छ । उनले पार्टी कमिटीलाई अन्तरिम भन्दै बेवास्ता गर्ने रणनीति बनाइसकेका छन् ।

ओली पक्षधरले पार्टी बैठकबाट सरकारबाट फिर्ता गर्ने सम्मको तयारी भएपछि बैठकलाई बेवास्ता गर्न थालेको हो । ओलीले अब जे जे परिस्थिति आएपनि सामना गर्ने भन्दै पार्टी कमिटीको निर्णय नमान्ने सम्मको तयारी गरेका छन् । उनले संसदीय दलबाटै प्रभाव बलियो बनाएर अगाडि बढ्ने रणनीति बनाएका छन् । विश्वस्त स्रोतका अनुसार ओली अब प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्षमा पुगेका छन् । त्यसको सबै तयारी समेत गरिसकेका छन् ।

संविधान अनुसार पार्टी फुटाउन आफूबाहेकका विरोधीले नसक्ने, फुटाउनका लागि ल्याउनुपर्ने विधयेक आफूले मात्र ल्याउन सक्ने बुझाईका कारण पनि ओली अब पार्टी बैठक टारेर बस्ने तयारीमा छन् । पार्टीको निर्णयले मात्र ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मिल्दैन । उनलाई प्रधानमन्त्रीबाट हटाउन संसदले मात्र सक्छ । त्यसका लागि अविश्वासको प्रस्ताव लगेर ओलीलाई अल्पमतमा पार्नुपर्ने हुन्छ । तर, ओली पक्षधरले संसदीय दलमा बहुमत दाबी गर्दै आएको छ ।

सचिवालय बैठकमा नगएपछि स्थायी कमिटी बैठकमा ओली नजाने निश्चितप्रायः भएको छ । उनले यसरी नै बैठक टारेर सत्ता संकटसँग जुध्न नयाँ विकल्प खोज्न थालेका छन् । कुनै हालतमा प्रधानमन्त्री पदबाट राजीनामा नदिने ओलीको अडानसँगै नयाँ राजनीतिक संकटको सम्भावना बढेर गएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot