काठमाडौं, मंसिर १८। गतवर्ष माघदेखि बन्द चिनियाँ नाकाहरू एकपक्षीय रूपमा अझैसम्म बन्दै छन् । कोरोनाका कारण सीमा खुलेपछि चिनियाँ पक्षले सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म सामान पुर्याइदिने गरेकोमा नेपाली कन्टेनरहरू सीमा पारि जान पाएका छैनन् ।
सीमा पारि सामान रोकिएपछि व्यवसायीहरूले अन्य देशसँगको कारोबार बढाउन थालेको नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए । माघदेखि बन्द नाका दुई देशबीच समझदारी भई गत जेठदेखि नाका खुला गर्ने भनिए पनि पूर्णरूपमा नाका खुल्न सकेको छैन । दैनिक सय कन्टेनर सामान आयात हुने नाकाबाट हाल मुश्किलले ५ कन्टेनरसम्म सामान आयात भइरहेको उनको भनाइ छ ।
धेरै व्यवसायीहरू व्यवसाय छोड्न बाध्य भएको र कामदार बेरोजगार भएपछि क्रमशः चिनियाँ व्यापारको विकल्प खोज्न थालिएको उनले बताए । हाल नेपाली कन्टेनर नाकाभन्दा पारि जान नपाएपछि चिनियाँ कन्टेनरले नै सीमा वारिसम्म सामान छोडिदिने गरेका छन्, जसकारण भाडा दशौं गुणासम्म बढेकाले लागत पनि बढेपछि व्यापारीहरूले वैकल्पिक माध्यम खोज्न थालेको उनको भनाइ छ ।
११ महीनादेखि नाका पारि नै सामान रोकिएकाले थुप्रै व्यवसायीहरू पलायन हुनुपरेकोमा कतिपयले आफ्नो व्यवसाय नै बदलेको उनी बताउँछन् । उनका अनुसार सामान्य अवस्थामा नेपाल–चीन व्यापार गर्ने व्यवसायीले चीनसँगै बढी कारोबार गर्ने गरेकोमा हाल भारत, बंगलादेश, थाइल्याण्ड लगायत देशसँग कारोबार बढाएका छन् ।
कतिपय व्यवसायीले चीनमा रोकिएका सामान समुद्री बाटो हुँदै भारतीय नाकाबाट सामान आयात गर्न थालेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।