Logo

अर्थमन्त्री र महासंघ भेट



काठमाडौं, मंसिर १८ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीक्षेत्रसँग सरकारले सहकार्य गर्ने बताएका छन् ।

अर्थमन्त्री पौडेलसँग अध्यक्ष शेखर गोल्छाले अबको समय मुलुकको उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरुत्थानका विषयमा निकै धेरै काम गर्नुपर्ने भएकाले महासंघले सोहीअनुसार तयारी गरी अघि बढेको बताएका छन् । उनले अन्तरराष्ट्रिय संस्थाको सहयोगमा मुलुकको भिजन डकुमेन्ट तयार गर्ने कार्यलाई अगाडि बढाएको जानकारी दिए । महासंघले तयार गर्ने उक्त डकुमेन्ट विभिन्न देशका सफल अनुभव र मोडलका आधारमा तयार पारिने पनि गोल्छाले बताए ।

अर्थतन्त्रको पुनरुत्थानका लागि महासंघले विज्ञसमेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझावहरू तयार गरी सरकारसमक्ष पेश गर्ने तयारी गरेको अध्यक्ष गोल्छाले बताए ।

कोभिड संकटमा महासंघले दिएका कतिपय सुझाव बजेट तथा मौद्रिक नीतिमार्पmत सम्बोधन भएको तर स्थानीय तहमा साना उद्यमी व्यवसायीहरूले मौद्रिक नीतिमार्फत दिइएका सुविधाहरू कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरिरहेको जानकारीमा आएकाले मौद्रिक नीतिमार्पmत दिइएका सुविधाहरू अक्षरशः लागू गर्न गोल्छाले आग्रह गरे । त्यस्तै उनले साना उद्यमी व्यवसायीलक्षित विशेष स्टिमुलस प्याकेज ल्याउन अर्थमन्त्रीलाई आग्रह गरे ।

बुधवार भएको भेटमा अर्थमन्त्री पौडेलले निजीक्षेत्रको मनोबल उच्च राख्ने गरी सरकार अघि बढेको बताउँदै कोभिडबाट थलिएको अर्थतन्त्रलाई उकास्न निजीक्षेत्रको सहयोग जरुरी रहेको बताए । उनले कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्न बजेट र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गरिनेमा पनि महासंघका पदाधिकारीलाई आश्वस्त पारेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot