काठमाडौं, मंसिर १८ । सामान्यतया पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्रीलाई विश्वास गर्दैन । लगानीकर्ताहरू आम कम्युनिस्ट अर्थमन्त्रीहरू खुला बजार अर्थतन्त्रका विरोधी हुने र निजी क्षेत्रलाई हस्तक्षेप गर्न खोज्ने प्रवृत्तिका हुने मान्यता राख्छन् र उनीहरूको कार्यकालमा बजारले गति लिन नसक्ने ठान्छन् । नेपालको पुँजी बजारको इतिहासलाई हेर्दा त्यस्तै देखिन्छ ।
दसवर्षे सशस्त्र युद्ध गरेर संविधानसभाको पहिलो चुनावबाट माओवादी सत्तामा आएपछि पुँजी बजार सशंकित बन्यो । त्यही बेला अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवाघर’ भनेपछि ठूलो हलचल मच्चियो । लगत्तै उनले ल्याएको बजेटमा सेयर बिक्रीबाट प्राप्त हुने नाफामा लाग्ने करको दर दोब्बर बढाएर १० प्रतिशत बनाए । त्यतिबेला ११ सय २५ को उच्चतम बिन्दुमा पुगेको नेप्से परिसूचक दिनहुँजसो ओरालो लाग्ने क्रम सुरु भयो ।
यो घटनामा मात्र होइन, अन्य बेलामा पनि पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्री बनेका बेला सहज महसुस गर्दैन । वर्षमान पुन अर्थमन्त्री बन्दा नेप्सेले गणतन्त्र स्थापना भएयताकै न्यूनतम बिन्दु २ सय ९० लाई छोयो । भरतमोहन अधिकारीको पहिलो कार्यकालमा बजार सानो थियो । उनको दोस्रो कार्यकालमा पनि बजार उल्लेख्य रूपमा बढ्न सकेन । सुरेन्द्र पाण्डे, कृष्णबहादुर महराका पालामा पनि पुँजी बजार घटबढ भइरह्यो । पछिल्लो समय विज्ञ भनेर चिनिएका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई पनि बजारले विश्वास गर्न सकेन । तर, यो सवालमा अर्थमन्त्री विष्णु पौडेल भने भाग्यमानी ठहरिए ।
कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा पौडेल अर्थमन्त्री बन्दा पुँजी बजार सूचक नेप्सेले १८ सय ८१ अंकको ऐतिहासिक बिन्दु छोएकोे थियो । पौडेलपछि पनि धेरैजना अर्थमन्त्री भए । तर, पुँजी बजारले सबैलाई विश्वास गरेन ।
नेप्से परिसूचक घटबढ हुँदै ११ सय बिन्दुसम्म ओर्लियो । लगानीकर्ताले पुँजी बजारलाई माथि उठाउन धेरै कोणबाट आवाज उठाए, रुवाबासी गरे तर अर्थमन्त्रीहरूले सुनेनन् । दुई तिहाइको जनमतका साथ विज्ञ भनिएका खतिवडा अर्थमन्त्री हुँदा पुँजी बजारले गति लिने विश्वास गरिए पनि उल्टो भएको आजको नागरिक दैनिकमा खवर छ ।