Logo

भारतीय विदेशसचिव श्रृंगलाको यात्राको तरङ्ग



विपिन देव: नेपाल र भारत सम्बन्धको उतार र चढाव सञ्चार जगतको रुचीको विषय हुने गरेको छ । भर्खरै भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको गाम्भीर्यताको बारेमा व्यापक चर्चा भइरहेको छ । काठमाण्डौको सत्ताको खेल र उच्च स्तरीय भ्रमणलाई पनि जोडेर समिक्षा गर्ने चलन पुरानो रहिआएको छ । भारतका विदेश सचिव नेपालीमा सम्बोधन गर्नु र भारतीय राजदुतावासले नेपालीमा प्रेस विज्ञप्ति जारी गर्नु जस्तो परिघटनाले भारतको नेपाल प्रतिको संवेदनशीलतालाई झल्काउँछ । अर्थात् नेपालीहरुको भावनालाई सम्बोधन गर्न भारत सजग रहेको देखिन्छ ।

श्रृंगला भ्रमणको पृष्ठभूमि भारतका रअ का प्रमुख र सैनिक प्रमुखको नेपाल भ्रमणले तयार गरेको थियो । खास गरेर रअ प्रमुखको नेपाल यात्रा एउटा खास परिवेशमा भएको थियो । रअ प्रमुखको नेपाल यात्रा हुँदा खेरि नयाँ दिल्लीमा अमेरिका र भारत बीच टू प्लस टू को वार्ता अमेरिकी सेक्रेटरी अफ स्टेट अर्थात् विदेश मन्त्री र रक्षा मन्त्री र भारतका तर्फबाट भारतीय रक्षा र परराष्ट्र मन्त्रीको सहभागिता थियो । त्यस बखत नेपालमा रअ प्रमुखलाई पठाएर भारतले अमेरिका लगायत अमेरिका गठबन्धनका मुलुकहरुलाई के सन्देश दिन खोजेको थियो भने नेपालको मामिलामा भारत गम्भीर र संवेदनशील छन् । भनाइको अर्थः भारतले जुन बेला पनि बौद्ध धर्मको कार्ड खेलेर र दलाइ लामालाई नेपाल र भारतमा सक्रिय बनाएर चीनलाई दबाब दिन सक्दछ ।

कुटनीति जहिले पनि कमजोर कडीलाई रेखांकन गर्दछ । अरुणाचल र लदाखमा चिनियाँ दबाबलाई मत्थर बनाउन भारतसँग तिब्बत कार्डको विकल्प छैन । अर्को तर्फ गोरखाको तीन विद्यालयको निर्माण लगायत विभिन्न परियोजनामा भारतको सहभागिता र अभिरुचीले पनि के सन्देश दिन खोजेको छ कि भारतमा रहेको गोर्खाली सैनिक र सुरक्षाकर्मीको भावनाप्रति भारत जागरुक र सजग छन् । साथ–साथै भारतले कोरोनाको कहरबाट मुक्ति दिलाउन २,००० भाइल पनि नेपाल सरकारलाई हस्तान्तरण गरेर मित्रताको परिचय दिएको देखिन्छ । जानकारहरुका अनुसार दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्न अमेरिकाले भारतको सक्रियतालाई अघि बढाउन सामरिक कसरत गरिरहेको अवस्था छ । तदनुरूप श्रीलङ्काले पनि अमेरिकी रणनीति अनुरुप “इण्डिया फर्स्ट” को नीतिलाई अघि बढाइरहेको अवस्था छ ।

स्मरणीय रहोस् श्रीलङ्कामा चिनियाँ लगानी (हम्वनटोटा प्रोजेक्ट) ले गर्दा श्रीलङ्का डेब्ट ट्रयापमा फसेको छ । भारत बङ्गलादेश र बर्मासँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको कुरा भारतीय विदेश सचिवका यी मुलुकहरुको यात्रा र विभिन्न किसिमका सन्धि र सम्झौताले पुष्टि गर्दछ । भारतीय विदेश सचिवको यात्रालाई विश्लेष्ण गर्दा के बुझ्न सकिन्छ भने भारतले चीनलाई कुटनीतिक र सामरिक दबाबमा राख्न खोजेको छ । भारत र नेपालको सम्बन्धको सेतु–बौद्ध धर्म पनि हो । त्यस अर्थमा चीनको सीमाना नजिक मनावआ गुम्बामा गएर त्यसलाई उदघाटन गरेर भारतले सन्देश दिन खोजेको छ कि नेपाल र भारतको सम्बन्धलाई विश्लेष्ण गर्दै जानकार शक्ति सिन्हाले प्रष्ट भनेका छन् कि लिम्पियाधुरा र लिपुलेकको घटना पछि नेपाल र भारतको सम्बन्ध सडकीकरण हुँदै एक किसिमले क्योटोग्राफिक आक्रमण भएको छ । अर्थात् नेपालले सदनबाट एकातर्फ यो भू–भाग आफ्नो हो भने सन्देश दिएको छ भने अर्को तर्फ विद्यालयको पाठ्यपुस्तकमा त्यसलाई समाहित नगरेर कुटनीतिक बचाव पनि गरेको छ । भनाइको अर्थ नेपालले लिएको यो रणनीतिलाई भारतले उच्च कुटनीतिको माध्यमबाट सम्बोधन गर्न आफ्नो सक्रियता देखाएको छ ।

लिम्पियाधुरा र लिपुलेकको घटना प्रति भारतका सैनिक प्रमुखले अभिव्यक्ति दिए पनि उच्च स्तरीय राजनीतिज्ञ र कुटनीतिज्ञ बाट कुनै आधिकारिक टिप्पणी आएको देखिँन्दैन । भारतका रअ प्रमुख, सैनिक प्रमुख र विदेश सचिवको यात्रा सीमा विवाद सम्बन्धी समस्यालाई सम्बोधन गर्न उत्प्रेरित रहेतापनि आधिकारिक रुपमा छिनोफानोको संकेत आएको देखिँन्दैन । विदेश सचिवको यात्राले एक किसिमले वार्ताको ढोकालाई खोलेको छ । अर्थात् कुटनीति सिथिलिकरण नहुन दिन र कुटनीतिलाई सडकीकरणबाट रोक्न उच्च स्तरीय वार्ताको टड्कारो आवश्यकता छ । कोरोनाको कहरमा पनि भारत र नेपालको व्यापार बढेको देखिन्छ । सीमामा दुईवटै सरकारको सक्रियताले बजार अपेक्षाकृत प्रभावित भएको छैन । भारतले आफ्नो सहयोग र योजनालाई यथावत रुपमा जारी नै राखेको देखिन्छ । रक्सौल पाइपलाइनले गर्दा इन्धनको समस्या प्रतिकुल अवस्थामा छैन । नेपाल र भारतको सम्बन्धलाई लिकमा ल्याउन कुटनीति र राजनीति बीच लक्ष्मण रेखांकन खिच्नुपर्दछ । जब देशको कुटनीतिलाई चुनावका पुञ्जीकृत गर्न खोजिन्छ भने त्यस अवस्थामा राष्ट्रिय हित सम्बोधन हुन सक्दैन । अर्थात् बदलिँदो परिवेशमा नेपाल र भारतको सम्बन्धलाई चुनावी मुद्दा बनाउनु हुँदैन । नेपाल र भारतको सम्बन्धलाई आर्थिक चश्माबाट हेर्न नेपालले सतर्कता अपनाउनु पर्दछ । तदनुरूप कोरोनाको कहरबाट छट्टपट्टाइरहेको नेपालको अर्थतन्त्रलाई व्यापक लगानीको खाँचो छ । लगानीमैत्री वातावरण बनाउन भारतीय पुञ्जी र बजारलाई अनुकुल बनाउन एन्टी–इण्डिया कार्ड चुनावमा पुञ्जीकृत गर्ने परम्परालाई परित्याग गर्नु आवश्यक रहेको देखिन्छ । रअ चिफ, सैनिक प्रमुख र विदेश सचिवको नेपाल भ्रमणलाई सकारात्मक रुपमा हेर्नुपर्दछ । नेपाल र भारतको सम्बन्धलाई आर्थिक चश्माबाट व्याख्या गर्नुपर्दछ ।



प्रतिक्रिया दिनुहोस्