Logo

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः करीब आधा दर्जन व्यवस्थामा पुनरवलोकन गरिने



काठमाडौं, मंसिर १९। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै आफ्नो करीब आधा दर्जन व्यवस्थाहरूको पुनरवलोकन गर्ने भएको छ । शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीतिलगायत पक्ष सकारात्मक भए पनि कोरोनाबाट प्रभावित अर्थतन्त्रमा सुधार नआएको राष्ट्र बैंकको ठहर छ ।

ब्याजदर अन्तर ५ प्रतिशत विन्दुमात्र हुनुपर्ने
बैंकहरूले बचतको ब्याजदर निकै घटाएकाले बचतलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले बचतको ब्याजदर मुद्दती निक्षेपभन्दा ५ प्रतिशत विन्दु मात्र कम गर्नुपर्ने व्यवस्था गर्ने भएको छ ।

कोरोना प्रभावित ऋणीको धितो लीलामी नहुने
कोभिड–१९ बाट असर परेका ऋणीको ६ महीनाभन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्ने भएको छ । कोभिडबाट प्रभावितलाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

ऋणी तानातान रोक्ने नीति
केन्द्रीय बैंकले आवधिक प्रकृतिका कर्जाहरू अग्रिम भुक्तानी गर्दा लिने शुल्क तथा स्वाप शुल्कलाई थप व्यवस्थित गर्ने बताएको छ । केन्द्रीय बैंकले कोभिडकालमा सेवा शुल्कको २० प्रतिशत अर्थात् शून्य दशमलव १५ प्रतिशत स्वाप शुल्क निर्धारण गरेको थियो ।

शेयर कर्जा र रियल इस्टेट कर्जामा पुनरवलोकन हुने
व्यक्तिगत अधिविकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियल इस्टेट कर्जासम्बन्धी विद्यमान व्यवस्थामा समेत पुनरवलोकन गर्न लागिएको छ ।

एटीएममा शुल्क लाग्ने
बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरूबाट लिने सेवा शुल्कबारे पुनरवलोकन गर्ने भएको छ ।

विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा तिर्न सकिने
राष्ट्र बैंकले विदेशी मुद्रामा लिएको ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्