Logo

हिउँदे विपद्को पूर्वतयारी तीव्र



काठमाडौं, मंसिर २१ । सरकारले सम्भावित शीतलहर तथा हिमपातबाट हुने क्षति कम गर्न विपद्को पूर्वतयारी तीव्र बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था कार्यकारी समितिले चिसो मौसममा ‘सम्भावित शीतलहर तथा हिमपात प्रभाव न्यूनीकरण पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७७’ पारित गरेको छ । साथै त्यसलाई कार्यान्वयनका लागि काम अगाडि बढाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन पनि दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले चिसोजन्य विपद्का लागि तत्काल पूर्वतयारी थाल्न निर्देशन दिइएको हो । बैठकलगत्तै प्राधिकरणले विपद्मा जुट्न स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका, २०७७ को मस्यौदामाथि बृहत् छलफल गरेको छ । सरकारको निर्देशन अनुसार प्राधिकरणले चिसोजन्य विपद्बाट आमजनतालाई सुरक्षा दिने कार्ययोजनामा काम थालेको प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।

उनका अनुसार कार्यान्वयनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइएको छ । त्यसका साथै चिसोबाट बच्न सचेतनामूलक कार्यक्रम स्थानीय भाषामै तयार गर्ने तयारी पनि सुरु भएको छ ।कार्ययोजना अनुसार शीतलहरबाट अति प्रभावित बन्ने तराईका ११ जिल्लालाई १५ लाख रुपियाँसम्मको न्यानो कपडा, कम्बल र दाउरा लगायतको व्यवस्था गरिने छ । कम प्रभावित ११ जिल्लालाई १० लाख रुपियाँसम्मका सोही सामग्री प्रदान गरिने छ ।

हिमाल छोएका २१ हिमाली जिल्लालाई सात लाख रुपियाँ बराबरको र ३४ पहाडी जिल्लालाई पाँच लाखसम्मको न्यानो कपडा लगायतका सामग्री प्रदान गरिने छ । त्यस्तै विपन्न वर्ग, जोखिममा परेका समुदायलाई समेत न्यानो कपडा, दाउरा लगायतका जाडोबाट सुरक्षित राख्ने सामग्री वितरण गर्ने तयारी भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot