Logo

दुवै अध्यक्षको प्रतिवेदन स्थायी समितिमा, दुई अध्यक्षबीच वान टु वान वार्ता



काठमाडौं,मंसिर २१ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र जारी विवाद स्थायी समिति बैठकमा जाने भएको छ । सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले विवाद चर्काएपछि स्थायी समिति बैठकमा थप छलफल हुने भएको हो ।

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने अडानबाट पछि हट्दै स्थायी समिति बैठकमा छलफल गर्न सहमत भएका हुन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न पार्टीको सर्वोच्च निकाय मानिएको सचिवालय असफल भएको देखिन्छ ।

यसअघि पार्टीभित्र देखिएको विवादको समाधान गर्न सफल भएको सचिवालय यसपटक भने असफल भएको छ ।एक महिना अघिबाट शुरु भएको सचिवालय बैठकमा गत कात्तिक २८ गते प्रचण्डले अध्यक्ष ओलीमाथि आरोप लगाउँदै प्रश्नसहितको राजनीतिक प्रतिवेदन पेस गरेक थिए ।

यस प्रस्तावले नेकपामा नयाँ तरंग ल्याएको थियो । प्रचण्डको प्रतिवेदनको जवाफ नदिने अडान लिए पनि मंसिर ३ गते प्रतिवेदनको लिखित जवाफ दिने जानकारी गराउँदै अध्यक्ष ओलीले दश दिनको समय मागेका थिए । मंसिर १३ गते बसेको सचिवलय बैठकमा प्रचण्डले पेस गरेको १९ पेजको प्रतिवेदनको जवाफ दिँदै ३८ पेजको लिखित प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

मंसिर १७ गते बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने ओलीले अडान लिएका थिए। ओलीलाई सहभागी हुन सचिवालय बैठकले तीन दिनको अल्टिमेटम दिएको थियो । अन्ततः शनिबार अध्यक्षद्वय ओली र प्रचण्डबीच वान टु वान वार्ता भएपछि ओली सचिवालय बैठकमा सहभागी भएका आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot